• १६ असार २०८२, सोमबार

आधुनिकतामा हराउँदै गएको धान दिवस

blog

काठमाडौँ, असार १६ गते । 

‘असारै महिनामा पानी पर्‍यो रुझाउने

एक्लो यो मेरो मन कसरी बुझाउने’ 

तुलसी गजमेरको रचना तथा सङ्गीत र छुजन डुक्पा शेर्पाको आवाजमा सजिएको यो गीत असार १५ अर्थात् धान दिवसका दिन धेरै गुञ्जिने गर्छ । किसान वर्षभरको छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन् । किसान असारे भाकामा प्रायः यही गीत गुनगुनाउँदै हिलोमा धान रोप्ने गर्छन् । रोपाहार मात्र नभएर चलचित्र क्षेत्रका कलाकारले पनि आइतबार हिलो छ्यापाछ्याप, दहीचिउरा खाँदै, धान रोपेर धान दिवस मनाएका छन् । संस्कृति प्रवर्धनको उद्देश्यसहित कलाकारले धान रोपाइँ गरेका छन् । अभिनेता राजेश हमालले हिलाम्मे भएर धान रोप्नुभयो । हिलाम्मे देखिनुभएका हमालले ललितपुरको हिलो फाँटमा धान रोपाइँ गर्नुभयो । यसै गरी कलाकार किरण केसीले पार्टी प्यालेसमा आफ्नो जन्मोत्सव पारेर यही दिन कलाकारलाई दहीचिउरा ख्वाउनुभयो । 

धान दिवसकै अवसर पारेर लोकसञ्चारकर्मी सङ्घले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७, शिवचोक फाँटमा आयोजना गरिएको धान रोपाइँ कार्यक्रममा विभिन्न कलाकारले सहभागिता जनाएका थिए । गोकर्णेश्वर नगरपालिकको सहकार्यमा भएको कार्यक्रममा नगरप्रमुख दीपक रिसालसहित कलाकार नारायण रायमाझी, बद्री पङ्गेनी, सरोज लामिछाने र लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरलगायतले दहीचिउरा खाएर धान दिवस मनाउनुभयो ।  

यसरी कार्यक्रम गरेर धान दिवस मनाउनु राम्रै हो तर पछिल्लो समय यसमा विकृति बढ्दै गएको देखिन्छ, संस्कृतिविद् गोविन्द टण्डन भन्नुहुन्छ, “आधुनिकताका नाममा विकृति भित्रिएको छ । असार १५ को नाममा नाच्ने, नचाहिँदो तरिकाले हिलो छ्यापाछ्याप गरेका तस्बिर सामाजिक सञ्जालमा राखेर मनाइने जमात बढ्दो छ ।” यसले समाजलाई अघि बढाउन खासै सहयोग नगर्ने र विकृतिलाई बढावा दिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “असार १५ ले नेपाल कृषिप्रधान मुलुक हो भनेर हामीलाई सम्झाउँछ ।”  परापूर्वकालदेखि नै परम्परागत रूपमा कृषि कर्ममा लागेको हुनाले यसमा पानी र मौसमको आफ्नै महत्व रहेको हुन्छ भन्दै उहाँले थप्नुभयो, “यसले जीवनमा सङ्गीत भर्ने भएकाले पनि यसको विशेष अर्थ रहेको छ ।” उहाँले नेपालको प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धान धार्मिक, सांस्कृतिक र सामाजिक पक्षमा पनि जोडिने बताउनुहुन्छ । देउपाटनमा असार १५ लाई कृष्ण जात्राका रूपमा मनाइने उहाँले बताउनुभयो । उहाँ स्मरण गर्नुहुन्छ, “पहिले असार १५ मा अर्कै माहोल हुन्थ्यो तर आधुनिकताका नाममा अहिले पहिलेको जस्तो उत्साह हराउँदै गएको छ । मेसिनका कारण अहिले रोपाहार धेरै नचाहिने भइसक्यो ।” 

गायक युवराज चौलागाईंले यस दिनलाई कृषकले मात्र नभएर कलाकारले पनि आआफ्नै किसिमले रमाइलो गरेर मनाउने बताउनुहुन्छ । उहाँले वर्षभरि खेतबारीमा दुःख गरेर मानो रोपेर मुरी फलाउने विशेष पर्व रहेको बताउँदै भन्नुभयो, “आज गाउँघरको खेतगरामा घरपरिवार र साथीभाइसँग मिलेर हिलो छ्याप्दै, असारे गीत गाउँदै, दहीचिउरा खाने दिन हो ।” उहाँले यस दिनलाई सांस्कृतिक पर्वका रूपमा मनाउनुपर्ने बताउँदै विकृति भित्रिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । “दहीचिउरा खुवाउने निहुँमा भाँडामा माटो राखेर रोपाइँ गरेको देख्दा मन खिन्न हुन्छ । माटो र अन्नलाई सम्मान गर्नु पर्छ विकृतितर्फ लग्नु हुन्न,” उहाँले बताउनुभयो । नेपाल सरकारले विसं २०६१ देखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ ।