• १४ असार २०८२, शनिबार

हृदयस्पर्शी ‘सितारे जमिन पर’

blog

काठमाडौँ, असार १४ गते । ‘सबैका आआफ्नै विशेषता हुन्छन् ।’ यस पङ्क्तिलाई चलचित्र ‘सितारे जमिन पर’ ले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । चलचित्रले मानवताको वास्तविक अर्थ सिकाउने प्रयास गरेको छ । चलचित्रले मनोरञ्जन मात्र दिएको छैन, समाजमा अझै पनि असामान्य सोच राख्ने मानिसको कमी नरहेको पनि देखाएको छ । अभिनेता आमिर खानले चलचित्र केवल पर्दाको कथा मात्र नभएर यो समाजलाई हेर्ने ऐना पनि हुन सक्छ भन्ने कुरा प्रमाणित गर्नुभएको छ । बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन यस चलचित्रले प्रेरणादायी भूमिका खेल्न सक्छ । 

जुनियर बास्केटबल प्रशिक्षक गुलसन अरोरा (आमिर खान) एक होचो कदका जिद्दी र अहङ्कारी मानिस हुन्छन्; जो आफ्नी आमा (डली अहलुवालिया) सँग बस्छन् । अभिनेत्री बन्ने सपना त्यागेकी उनकी श्रीमती (जेनेलिया डिसुजा) सँग उनको सम्बन्धविच्छेद भएको हुन्छ । व्यावसायिक क्षेत्रमा पनि उनको अवस्था खराब चलिरहेको छ । खेलकुद संस्थाबाट निलम्बन र औसत उचाइले गर्दा उनको आत्मसम्मानमा निरन्तर चोट पुग्छ । 

एक रात मादक पदार्थ सेवन गरी गाडी चलाएको र झगडा गरेको आरोपमा उनलाई ‘डाउन सिन्ड्रोम’ (बौद्धिक अपाङ्गता) भएका युवा वयस्कहरूको बास्केटबल टोलीलाई प्रशिक्षण दिनुपर्ने सजाय सुनाइन्छ । त्यसका लागि दश जनाको टोली तयार हुन्छ । सुरुमा गुलसन उनीहरूलाई ‘पागल’ को संज्ञा दिएर रिसालु व्यवहार गर्छन् तर मैदान र साना जितहरूले बिस्तारै उनीभित्रको जिद्दीपन हटाउने काम गर्छ । उनीभित्रको पूर्वाग्रहहरू हराउँछन् र बुझ्न थाल्छन्– सबै ‘सामान्य मानिस’ को आफ्नै परिभाषा हुन्छ । के गुलसन यी बौद्धिक अपाङ्गता भएका खेलाडीहरूसँग साँच्चै जोडिन सक्षम हुन्छन् ? के उनी आफ्नो बास्केटबल–प्रशिक्षक मानसिकता त्यागेर फुटबल प्रतियोगितामा उनीहरूसँग एकताबद्ध गर्न सक्षम हुने छन् ? चलचित्रमा आमिरका धेरै रूप देख्न पाइन्छ । उहाँले आफ्नो जीवनमा एक विशेष बच्चालाई कसरी ल्याउनुभयो भन्ने कुरा धेरै रोचक ढङ्गले प्रस्तुत गरिएको छ । आमिरले यस चलचित्रमार्फत १० बालबालिकालाई ‘डेब्यु’ गराउनुभएको छ । सबैले उत्कृष्ट काम गरेका छन् । आमिर खान र जेनेलियाको जोडी प्रशंसायोग्य छ । आरएस प्रसन्नाको निर्देशकीय पक्ष वास्तवमै अब्बल छ । 

मध्यान्तरसम्म चलचित्रको कथा केही सुस्त बगेको हो कि भन्ने भान हुन्छ । मध्यान्तरपछि भने चलचित्रले कथाको लय तीव्र गतिमा समात्छ । चलचित्रमा शङ्कर–एहसान–लयको सङ्गीत तारिफयोग्य छ । अमिताभ भट्टाचार्यका गीतमा भावनाका साथ मिठास भरिएका छन् । निर्देशकले प्रसन्नाले हास्य र मानवीय सम्बन्धको माध्यमबाट समाजमा व्याप्त पूर्वाग्रह र भेदभाव तोड्न खोज्नुभएको छ ।