• १९ वैशाख २०८१, बुधबार

नयाँ वर्ष : उमङ्गको पर्व

blog

काठमाडौँ, वैशाख १ गते । नयाँ वर्षको आगमनलाई विगतको भन्दा आउँदा दिन अझ बढी फलदायी र सुखमय रहून् भन्ने कामनाका साथ उल्लासमय ढङ्गले मनाइन्छ । विगतका दिनमा भएका हानिनोक्सानी तथा राम्रा नराम्रा घटनाक्रमको विवेचना गरेर आउँदा दिनमा ती सबै अनुभवलाई पाठका रूपमा अँगाल्दै विभिन्न खाले रचनात्मक कार्य थालेर नयाँ जीवनको आरम्भ गर्ने सङ्कल्प यही दिनमा गर्ने गरिन्छ । नयाँ वर्षको दिन भनेको नयाँ उमङ्ग, नयाँ उल्लास, नयाँ कामको सुरुवाती गरिने दिनका रूपमा लिइन्छ । 

संस्कृतिविद् गोविन्द टण्डन पुरानो वर्ष पूरा भएर नयाँ वर्ष लाग्ने क्रममा विशेष उत्साह एवं उमङ्गका साथ मनाइने विश्वव्यापी चलन रहेको बताउनुहुन्छ । नयाँ वर्ष भन्नेबित्तिकै नयाँ जोश, नयाँ सोच र नयाँ उमङ्ग थपिनु स्वाभाविक हो । त्यसमाथि मानिस आशावादी हुन्छ । आशाले भविष्य निर्माणलाई सघाउन मद्दत गर्छ । उहाँले भन्नुभयो, “नेपालीमा जुन किसिमले नयाँ परिवर्तन आइरहेको छ, त्यसमा युवा पुस्ताले आफ्नोपनलाई बिर्सेको,” बताउनुभयो ।  

संस्कृतिविद् प्राडा ऋषिराम पोखरेल नयाँ वर्ष आशा र उमङ्गको अवस्थाविशेष भएको बताउनुहुन्छ । उहाँका अनुसार अघिल्ला वर्षमा भएका सबै दुःखकष्ट आउँदो वर्षमा हराउँला भन्ने सङ्कल्प लिएर नयाँ वर्ष मनाइन्छ । आफ्नो परम्परा, धर्म, संस्कृति एवं सभ्यताको रक्षाका लागि नयाँ वर्ष मनाउनु त छँदै छ त्यसबाहेक वर्षभरिका तितामिठा पललाई बिसाएर नवीन उत्साहका साथ नयाँ दिन थाल्ने र सुरुको दिन राम्रो बनाएपछि वर्षभरि नै राम्रो हुने विश्वास बोकेर नयाँ वर्ष मनाउनुपर्ने उहाँ बताउनुहुन्छ । 

नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ । बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थ स्नान गरिन्छ । त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन् । यसरी नेपालीको नयाँ वर्षका रूपमा प्रचलित मेष सङ्क्रान्ति अर्थात् वैशाख सङ्क्रान्तिलाई हर्षोल्लासपूर्वक मनाइन्छ । यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीले नयाँ वर्ष मनाउने संस्कृति पछ्याएका हुन् । नयाँ वर्षका दिन आपसमा सद्भावको आदानप्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठमन्दिरमा गई पूजाआजा गर्ने, मिठा मिठा परिकार खाने आदि गरिन्छ ।