• १० मंसिर २०८१, सोमबार

महिला साहित्यकार

कविता बढी, आख्यानमा कमी

blog

काठमाडौँ, वैशाख १४ गते । नेपाली साहित्यका सयौँ पुस्तक बर्सेनि बजारमा आउँछन् तर त्यसमा महिलाले लेखेका पुस्तकको सङ्ख्या कति ? यसरी हेर्दा, महिलाले लेखेका पुस्तकको सङ्ख्या निकै कम देखिन्छ । नेपाली साहित्यमा विष्णुकुमारी वाइबा (पारिजात) पछि सशक्त महिला साहित्यकारको उदय हुन नसकेको गुनासो साहित्यकारको छ । 

२०१३ सालदेखि प्रदान गर्न थालिएको मदन पुरस्कारको पुरस्कृत सूचीमा पारिजातको शिरिषको फूलले २०२२ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । २०१३ सालदेखि २०७९ सम्मको मदन पुरस्कार (२०३१ र ३३ सालमा वितरण नगरिएको) को सूचीमा महिला साहित्यकार चार जनाले मदन पुरस्कार प्राप्त गर्नुभएको छ । यो तथ्यले समेत महिला लेखकको अवस्था र स्तरलाई नियाल्न सहयोग गर्छ । मदन पुरस्कार गुठीका अनुसार झमक घिमिरेको ‘जीवन काँडाकी फूल (२०६७)’, राधा पौडेलको ‘खलङ्गामा हमला (२०७०)’ र नीलम कार्की ‘निहारिका’ को ‘योगमाया (२०७४)’ ले मदन पुरस्कार प्राप्त गरेको थियो । 

आख्यानकार बिना थिङ तामाङका अनुसार महिला लेखक सङ्ख्यात्मक हिसाबले अहिले बढी भए पनि निरन्तरतामा कमी छ । यसमा राम्रो नराम्रो कस्तो लेख्छन् भन्ने कुराले फरक पार्न सक्छ । तथापि लेखन क्षेत्रमा आउने र फेरि हराउने क्रम कायम नै छ । महिलाको रुचि अलि बढी कवितामा पाइन्छ । आख्यानमा अलि कम महिला लेखकले कलम चलाएको पाइन्छ । महिला लेखकका कृतिलाई समेटेर राष्ट्रिय सभागृहमा प्रदर्शनी भइरहेको छ । २०४१ सालमा पारिजातले पहिलो महिला पुस्तक प्रदर्शनी सुरु गर्नुभएको थियो । त्यसपछि यस्ताखाले प्रदर्शनी बिरलै हुने गरेका थिए । पारिजातले थालेको महिला साहित्यकारका कृति प्रदर्शनीलाई निरन्तरता दिन पारिजातको ३१ औँ स्मृति दिवसमा प्रदर्शनी सुरु गरिएको हो । वैशाख ११ देखि १५ सम्म हुने प्रदर्शनीमा तीन सयभन्दा बढी महिला लेखकका पुस्तक प्रदर्शनीमा छन् ।

लेखक बिना थिङ तामाङका अनुसार प्रदर्शनीले माहोल राम्रो बने पनि सहभागिता एउटा घेरामा मात्र सीमित भएको जस्तो देखियो । उहाँले भन्नुभयो, “महिला साहित्यकारको पुस्तक प्रदर्शनी भनेपछि महिला मात्र आउने उहाँहरूको मात्र अन्तर्क्रिया र भेटघाट हुने अवस्था देखियो । यसले त पुरुष आउनै हुँदैन भने जस्तो सङ्केत देखायो । प्रदर्शनीमा पाठकको उपस्थिति कम हुनुको कारण यो पनि हो ।” निबन्धकार गीता त्रिपाठीले सहभागिताको हिसाबले महिला लेखकको उपस्थिति कम नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विधागत रूपमा हेर्दा कविता, आख्यान, स्मरण र आत्मकथामा महिलाका कृति धेरै देखियो ।”

अहिले साहित्यमा महिलाको उपस्थिति छैन भन्नु गलत भएको धारणा उहाँको छ । उहाँले कृतिको समीक्षा कम हुने गरेको र समालोचकले महिला साहित्यकारलाई नपत्याएको हो कि ? भन्नुभयो । उहाँले महिला समालोचकको सङ्ख्यासमेत कम भएको र लेख्ने पनि कुनै प्रयोजनका लागि मात्र भएकाले महिलाका कृतिमा कमीकमजोरी औँल्याउने काम भइरहेको बताउनुभयो । पारिजात स्मृति केन्द्र अध्यक्ष मातृका पोखरेलले प्रदर्शनीले समकालीन समयमा महिला लेखकको उपस्थिति कस्तो भनेर देखाउने उद्देश्यले प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले यस्तो प्रदर्शनीले महिला स्रष्टा र तिनका सिर्जना बाहिर आउन र महिला लेखनमा खोज तथा अनुसन्धान गर्नेलाई समेत सजिलो बनाउन मद्दत गर्ने बताउनुभयो ।