• १८ वैशाख २०८१, मङ्गलबार

प्रचारमै सीमित ‘डिग्री माइला’

blog

काठमाडौँ, वैशाख ५ गते । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र हालसम्म खासै चल्न सकेका छैनन् । गुरुङले निर्देशन गरेका चलचित्रको प्रचारप्रसार खुब गरिन्छ तर जब चलचित्र हलमा चल्ने बेला आउँदा दर्शक नपाउने समस्या सिर्जना हुन्छ ।  यद्यपि गुरुङद्वारा निर्देशित चलचित्र ‘कबड्डी’ ले सोचेभन्दा राम्रो व्यापार गरेको थियो । यसपछि यसैको दोस्रो र तेस्रो भागले खासै दर्शकको ध्यान खिच्न सकेन । चौथो भाग ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा निर्देशक गुरुङको निर्देशकीय पक्ष धेरै नै खस्किसकेको थियो । 

यी चलचित्रले दर्शकलाई निराश बनाउने काम मात्रै गरे । यही क्रम अहिले चलचित्र ‘डिग्री माइला’ मा पनि लागु भएको छ । सधैँ मौखिक प्रचारले मात्र चलचित्र चल्छ भन्ने कुरालाई गुरुङ निर्देशित चलचित्र डिग्री माइलाले गलत साबित गरिदिएको छ । त्यसमाथि नाम चलेका कलाकारको पनि सधैँ दिन राम्रो हुन्छ भन्ने नहुने चलचित्र हेरेपछि ठम्याउन सकिन्छ । चलचित्रको कथा कुनै नयाँ पनि छैन । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा मास्टर डिग्री गरेको एउटा महत्वाकाङ्क्षी युवक घमण्ड र कालान्तरमा ती पात्रमा देखिने नैरश्यको कथा डिग्री माइलामा रहेको छ  ।  

डिल्लीराम भुजेल (डिग्री माइला) जो एक आदर्शवादी चरित्र बोकेका व्यक्ति चलचित्रमा देखिन्छन् । रुम्जाटारको गाउँमा उनी मात्र अङ्ग्रेजीमा डिग्री गर्ने एक्लो युवा भएकाले उनमा दम्भ हुनु स्वाभाविक मानिन्छ । उनी गाउँमा आफूबाहेक कसैले पनि अङ्ग्रेजी जान्दैनन् भन्ने भ्रममा छन् । उनलाई  आफ्नो डिग्रीप्रति आवश्यकताभन्दा बढी घमण्ड छ ।  ओखलढुङ्गाको रुम्जाटारमा अवस्थित अमरज्योति शिक्षा विद्यालयमा अङ्ग्रेजी पढाउने शिक्षकको माग हुन्छ । 

डिल्लीराम भने अङ्ग्रेजीमा डिग्री गरेकै भरमा अनेकन काल्पनिक सपनामा भुलिँदै जान्छन् । उनलाई क्याम्पसमा पढाइदिनका लागि प्रस्ताव पनि गरिन्छ । यस्तै हल्काफुल्का कुरामा चलचित्रको कथा रुमलिएको छ । 

चलचित्रले अहिले डिग्री हासिल गरेर पनि बेरोजगार भएर बसेका शिक्षक र सधैँ कल्पनामा रमाइरहने र आफूलाई मात्र सबै कुरा थाहा भएको अरूलाई खासै नगन्ने पात्रको कथालाई उजागर गर्न खोजिएको छ । चलचित्रको मध्यान्तरपछि भने दर्शकलाई कतिबेला चलचित्र सकिएला जस्तो लाग्छ । सधैँ एकै खाले अभिनयले दिक्क बनाएका दयाहाङले यस चलचित्रमा पनि खासै राम्रो प्रस्तुति दिन सकेका छैनन् ।

चलचित्रमा अर्को खट्किएको पक्ष भनेको अन्त्यमा विद्यार्थीले शिक्षाका लागि गरेको आत्मदाहको प्रयासलाई साधारण तरिकाले टुङ्ग्याइएको छ ।