• २० मङ्सिर २०८२, शनिबार

अमेरिकी सहयोगमा येँगा हिटीको जीर्णोद्धार

blog

काठमाडौँ, मङ्सिर २० गते । काठमाडौँस्थित अमेरिकी दूतावासले वर्ल्ड मोनुमेन्ट्स फन्ड र चिभा चैत्य अर्गनाइजेसनसँगको साझेदारीमा काठमाडौँको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धारको खुसीयाली मनाएको छ । 

उक्त परियोजनालाई अमेरिकाको राजदूत सांस्कृतिक संरक्षण कोष (एएफसीपी) को अनुदानमार्फत सहयोग गरिएको थियो, जसले नेपालको सांस्कृतिक सम्पदाको सुरक्षा गर्नप्रति र पर्यटन क्षेत्रमा नेपाली तथा अमेरिकी आगन्तुक तथा व्यवसायहरूलाई लाभ पुर्‍याउने आर्थिक वृद्धिलाई बढवा दिनप्रति अमेरिकाको निरन्तरको प्रतिबद्धता पुनर्पुष्टि गरेको छ ।

स्थानीय अगुवा र सरकारी अधिकारीहरूसँग सरिक हुँदै कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले हालसालै जीर्णोद्धार गरिएको उक्त हिटीको उद्घाटन गर्नुका साथै सो परियोजनालाई सम्भव बनाएका साझेदारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

“येँगा हिटीको जीर्णोद्धार केवल एउटा सम्पदा स्थलको मर्मत कार्य मात्र नभई पन्ध्र सय वर्षभन्दा अघिदेखि यो समुदायको – र नेपाल राष्ट्रकै – सेवा गर्दै आएको एउटा जीवन्त जलस्रोत प्रणालीको नवीनीकरण पनि हो । अमेरिका र नेपालबिचको मजबुत र चिरस्थायी साझेदारीप्रति अमेरिकी दूतावास प्रतिबद्ध रहेको छ । हामी सांस्कृतिक संरक्षण, सामुदायिक उत्थानशीलता र दुवै देशको समृद्ध भविष्यलाई सहयोग पुर्‍याउन जारी राख्नेछौँ,” मिक्सले भन्नुभयो ।


उक्त समारोहको आयोजना येँगा हिटीको जीर्णोद्धारसँगै त्यहाँ ५० वर्षमा पहिलो पटक पानीको प्रवाह सुचारु भएकोमा गरिएको हो । सो जीर्णोद्धार कार्य “काठमाडौँ उपत्यकाका हिटी, जलसम्पदा पुनर्स्थापना परियोजना” को एक हिस्सा हो, जुन परियोजनालाई २ लाख ७५ हजार अमेरिकी डलर बराबरको एएफसीपी अनुदान सहयोग प्राप्त छ । यस परियोजनाले काठमाडौँ उपत्यकामा कम्तीमा तीन वटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी र सम्पदा पेसाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने र दीर्घकालीन संरक्षण योजना निर्माणमा मद्दत गर्ने लक्ष्य लिएको छ । येँगा हिटी एक वर्ष लामो मिहिन अध्ययन, अभिलेखीकरण र जीर्णोद्धारपश्चात् सम्पन्न गरिएको पहिलो स्थल हो ।

येँगा हिटीको जीर्णोद्धार येँगा क्लब, चिभा चैत्य अर्गनाइजेसन, पुरातत्त्व विभाग र स्थानीय तथा प्रदेश सरकारहरूसँगको बलियो सहकार्यमार्फत भएको हो । सन् २००३ यता, एएफसीपीमार्फत अमेरिकी सरकारले नेपालमा २८ वटा सांस्कृतिक संरक्षण परियोजनाहरूमा झन्डै ४६ लाख अमेरिकी डलरको सहयोग गरेको छ, जसले नेपाललाई एएफसीपी कार्यक्रमको सबैभन्दा सक्रिय र महत्त्वपूर्ण साझेदारहरू मध्ये एक बनाएको पनि छ ।