• २० मङ्सिर २०८२, शनिबार

नगदसहित स्वयंसेविकको बिदाई

blog

गुल्मीदरवारमा सेवानिवृत महिला स्वास्थ्य स्वयंसेविका । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी),मङ्सिर २० गते ।
गुल्मीदरवार गाउँपालिका–७ की ६० वर्षीया सीता श्रेष्ठलाई गाउँपालिकाले नगद ५० हजारसहित बिदाई गर्‍यो । गाउँपालिकाले निधारमा टीका, गलामा माला र दोसल्ला ओढाएर चेक प्रदान गरेपछि २७ वर्ष महिला स्वास्थ्य स्वयसेविकका बन्नुभएकी श्रेष्ठको मन पीडाले अमिलो बन्यो । उहाँले भन्नुभयो, “हुन त उमेरका कारण छोडेको हो तर बिहेमा माइतीमा अन्मिँदा जस्तै पीडाबोध भयो । २७ वर्ष गरेका सङ्घर्ष सम्झेर गाउँपालिकाले नगदसहित सम्मान गरेकोमा आभारी छौ ।” सीता श्रेष्ठ २०५३ साल जेठ १ गतेबाट महिला स्वास्थ्य स्वयंसेविका बन्नु भएको हो । त्यो बेला विवाहित महिला खोज्थे । स्वयंसेविका बन्न कसैले मान्थेनन् ।

गर्भवति भएकै अवस्थामा श्रेष्ठले साविकको ६ नम्बर वडा हेर्ने गरेर महिला स्वयम सेविका बन्नुभयो । तत्कालिन समयमा सुविधा केहि थिएन तर चुनौति धेरै थिए । घर छोड्न बाहिर जाँदा श्रीमान, सासुससुरालाई कुरा बुझाउन निकै गाह्रो थियो । घरघरमा पुग्ने, बोल्ने र कुरा बुझाउनु पर्ने काममा समाजले पनि फरक तरिकाले गिज्याउँथे । तर, कहिँकतै बिचलित नभएर काम गरेको श्रेष्ठले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘खोपका लागि घर जाँदा विष लिएर आए भन्दै छोराछोरी बोकेर खोला झर्नेहरु पनि भोगियो । अहिलेको जस्तो चेतनास्तर गाउँमा थिएन् ।”

तत्कालीन समयमा अभियान चले खाजा र भत्ता भनेर ५० रुपियाँमा कर काटेर दिने गरेको श्रेष्ठले सुनाउनुभयो । गुल्मीदरवार गाउँपालिकाले ६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविका सीता श्रेष्ठ, लक्ष्मी कार्की, भगवती टण्डन र राधिका रानालाई नगद ५० हजार रुपियाँसहित बिदाई गरेको गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

गुल्मीदरवारमा ८३ जना महिला स्वास्थ्य स्वयसेविका रहेका छन् । गाउँपालिकाले बर्सेनी स्वयसेविकलाई सम्मान गरेको छ । सत्यवति गाउँपालिकाले पनि सर्वोत्कृष्ट, उत्कृष्ट र सवै महिला स्वास्थ्य स्वयसेविकालाई सम्मान गरेको छ । सवै वडाहरुबाट सर्वोउत्कृष्ट भगवती कुँवर, वडाहरुमा उत्कृष्ट सीता ढकाल, तुल्सा कुँवर, प्रेमा सुस्लिङ्ग, कृष्ण बुढाथोकी, मीठु नेपाली, उमा थापा, दोमती श्रीस र देवि तरामु थापालाई सम्मान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हिमलाल भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाले पछिल्लो समय महिला स्वास्थ्य स्वय सेविकाहरुको लागि विभिन्न रचनात्मक कामहरु गर्दै आएका छन् ।

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक २४ हजार रुपियाँ निवृतिभरण(पेन्सन) दिने गरेको छ । अनिवार्य अवकाश हुनुहुने स्वयंसेविकाहरुले मासिक दुई हजार पेन्सन पाउँदै आउनुभएको छ । त्यस्तै गाउँपालिकाले महिला स्वास्थ्य स्वयम सेविकामध्ये स्वेच्छिक अवकास लिनेलाई एकमुष्ट १० हजारदेखि सेवा अवधि अनुसार ३० हजार रुपियाँ प्रदान गर्ने गरिएको स्वास्थ्य शाखाको सिनियर अहेक सपना टण्डनले जानकारी दिनुभयो ।

अहिलेसम्म गाउँपालिकाबाट पाँच जना महिला स्वास्थ्य स्वयमसेविकाले निवृतिभरण पाइरहनु भएको छ । गाउँपालिकामा ८६ जना महिला स्वास्थ्य स्वयसेवि रहेका छन् । टण्डनका अनुसार शुक्रबार उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविक मिना सिंजाली, टिकीसरा रेश्मी, बिष्णुदेवि खनाल, गीता पाण्डेय, खेमकुमारी पालुङ्गे र सावित्रा नेपाली नगदसहित सम्मान गरिएको टण्डनले बताउनुभयो ।

यता रुरुक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता गरेर गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई निवृतिभरण योजना सुविधामा समेटेको गाउँपालिका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो ।