• १४ वैशाख २०८१, शुक्रबार

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना

blog

काठमाडौं, बैशाख २० गते । यस वर्ष प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासंघ सञ्चार अनुगमन एकाइमा परेका तीन सयभन्दा बढी उजुरी मध्ये ७५ वटा घटना प्रेस स्वतन्त्रता हननको रहेको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो ।

यी घटनामध्ये सबैभन्दा बढी घटना बागमती प्रदेशमा ५४ वटा घटनाहरु भएका छन् । त्यस्तै गरी प्रदेस नम्बर १ र मधेस प्रदेशमा ६–६ वटा हननका घटना भएका छन् भने कर्णाली प्रदेशमा पाँच, लुम्बिनी तथा गण्डकीमा २–२ वटा घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा भने यस वर्ष कुनै पनि प्रेस स्वतन्त्रता हनन घटनाहरु नभएको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । 

प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भएको महासङ्घको तथ्याङ्कमा उल्लेख छ । २७२ मध्ये ३३ महिला सञ्चारकर्मी पीडित भएका छन् । 

अघिल्लो वर्षको पत्रकार महासङ्घको अभिलेखमा प्रेस स्वतन्त्रतामाथिको प्रहारका घटना ४५ वटा थिए भने ती घटनाबाट जम्मा ५ सय ८४ पत्रकार र तीन वटा सञ्चारसंस्था पीडित बनेका थिए । ५८४ पत्रकारमध्ये ७७ पत्रकार महिला थिए । यस वर्ष तीन जना पत्रकार गिरफ्तारीमा परे भने आक्रमण, दुर्व्र्यवहार र धम्कीबाट २९ जना पत्रकार पीडित भएका जनाएको छ । त्यस्तै पेशागत असुरक्षाको मार ३१ जना पत्रकारले खेप्दैछन् । 

प्रेस स्वतन्त्रता हननका यी ७५ वटा घटना हुुँदा २७२ जना सञ्चारकर्मी र ९ सञ्चारगृह पीडित भए

सरकारले कानुन बनाएर प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्न खोजेको महासङ्घको आरोप छ । प्रेस स्वतन्त्रताको आन्दोलनलाई उचाइमा पु र्‍ याउनका लागि प्रेस आफै उत्तरदायी र मर्यादित हुन जरूरी रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । पत्रकार आचारसंहिता र पत्रकारिताका स्थापित मान्यतालाई स्थापित गर्नुपर्ने र सामाजिक विश्वास अभिवृद्धि गर्ने दिशामा पत्रकारहरूले आफूलाई प्रतिबद्ध बनाउन जरुरी भएको पोखरेलले बताउनुभयो । 

त्यसैगरी राज्यले पनि पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लोकतान्त्रिक मूल्यभित्र रहेर पत्रकारिताको प्रवद्धर्नमा सहयोग गर्नु पर्ने महासङ्घको माग छ । सन् १९९१ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनबाट मे ३ तारिकलाई विश्व प्रेस स्वतन्त्रताको रुपमा मानिँदै आएको छ । 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आजको दिन महत्वपूर्ण दिनको रुपमा  मानिन्छ । ‘प्रविधि नियन्त्रित मिडिया’ भन्ने नाराका साथ आज दिवस मनाउन सुरु गरिएको छ ।