• ६ जेठ २०८१, आइतबार

होचो मान्छेको उचाइ छुने सङ्घर्ष

blog

काठमाडौं, फागुन २९ गते । नेपाल होचा पुड्का सङ्घले आत्मनिर्भर एवम् स्वरोजगारका लागि काठमाडौंमा करिब एक महिनादेखि सिलाइबुनाइ तालिम सञ्चालन गर्दै आएको छ । कक्षा १२ देखि स्नातक तहमा अध्ययन गर्दै गरेका होचा पुड्का विद्यार्थीदेखि उमेर ढल्किँदै गरेका व्यक्तिहरु तालिममा सहभागी हुनुहुन्छ । 

धादिङकी २० वर्षकी फूलमाया गैरीकोटी कक्षा १२ को पढाइ सकेर सिलाइबुनाइ तालिममा सहभागी हुनुहुन्छ । सिलाई सिकेर आफ्नै गाउँमा टेलर खोल्ने र आफूजस्तै होचापुड्का साथीलाई पनि सिलाइ सिकाउने भावी योजना रहेको उहाँ बताउनुहुन्छ ।

तालिममा, थानकोट चन्द्रागिरी नगरपालिकाकी टेलर व्यवसायी लक्ष्मी अछामी प्रशिक्षक हुनुहुन्छ । कुनै समय होचो पुड्को भएकाले लक्ष्मीले सिलाइ गर्न सक्नुहोला भनेर परिवारमा पत्याउने अवस्था थिएन । तर निरन्तर सीप सिक्ने जाँगर र प्रयासका कारण उहाँ टेलर व्यवसायी बन्न सफल हुनुभएको छ ।  

लक्ष्मीले भन्नुभयो, “होचोपुड्को भएकाले मेसिनमा बस्न सक्दैन भन्ने गर्नुहुन्थ्यो । त्यो बेला म घरकै कामहरु गरेर बस्थें । पछि–पछि मैले सक्छु होला भन्ने लागेर आफैं मेसिनमा बस्न थालें । हामी अपाङ्गलाई कसैले पनि काम दिँदैन । हातमा सीप भयो भने, ठूलो मेसिनमा हात नपुगे पनि हाते मेसिन चलाउन सकिन्छ । अहिले साधारण कुर्ता सिलाएको पनि पाँच सय रुपियाँभन्दा बढी छ ।”

काठमाडौं घर भएकी ५४ वर्षकी रेनुका श्रेष्ठ परिवारमा आफू एक्लै होचापुड्का सदस्य हुनुहुन्छ । परिवारभित्र एक्लो एवम् अपमानित हुनुपरेको र आफन्तहरु आफूसँग बोल्नसमेत झर्को मान्ने गरेको गुनासो उहाँले गर्नुभयो । 

रेनुकाले भन्नुभयो, “साथीभाइ भेट्दा रमाइलो लाग्छ । घरमा बस्न मन लाग्दैन, कुरा पनि मिल्दैन । घरमा कोही सदस्य त झन्, बोल्दै बोल्दैनन् मसँग । म एक्लै सानो मान्छे होला भन्ने लाग्थ्यो, यहाँ म जस्तै भाइबहिनी देखेपछि आनन्द लाग्छ ।” 

विवाहपछि श्रीमानकाे घरमा काम गर्न नसके फेरि पनि हेलामा परिन्छ भन्ने डरले विवाह नगर भनेर परिवारका सदस्यले उहाँलाई सुझाउने गर्छन् । उहाँले भन्नुभयो, “विवाह गरेर के गर्छस् ? दुई माना चामलको भात पकाएर खुवाउन सक्दैनस् । काम गरे खुसी हुन्छन्, त्यही भएर विवाह नगर भन्नुहुन्छ । तर जीवन बिताउन सहज हुन्छ होला, साथी पाइयो भने विवाह गर्ने सोच त छ ।” आफू जस्तै साथीहरुलाई जानेको सीप सिकाउन तालिममा सहभागी भएको उहाँको भनाइ छ ।

तालिममा सहभागीमध्ये कक्षा १२ को परीक्षा सकेर बुटवलका २५ वर्षीय भीमबहादुर सुनार एक हुनुहुन्छ । भीमबहादुर राति डान्स बारमा कलाकारको काम पनि गर्नुहुन्छ । विद्यालयमा पढ्दा भविष्यमा शिक्षक बन्ने लक्ष्य राख्नुभएका भीमबहादुर हातमा प्रमाणपत्र भएपनि होचापुड्का भएकोले रोजगार नपाउने समस्या रहेको बताउनुहुन्छ । होचा पुड्का सङ्घ र काठमाडौं महानगरपालिकाको समन्वयमा सुरु भएको सिलाइबुनाइ तालिम तीन महिना समयावधिको रहेको छ ।

सङ्घका अध्यक्ष बिन्दा दुलालले तालिममा टोपी, कुर्ता, सलवार, भोटो, म्याक्सी, बच्चाहरुको कपडा आदि बुन्न प्रशिक्षण दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार देशका ७७ जिल्लामा होचा पुड्का व्यक्ति रहे पनि उनीहरुको यकिन तथ्याङ्क छैन । सङ्घमा भने करिब साढे तीन सय जनाले सदस्यता लिएका छन् ।

परिवारभित्र नै सपाङ्ग र अपाङ्ग व्यक्तिबिच फरक व्यवहार हुने भन्नुहुँदै उहाँले आफन्त, छरछिमेक र साथीभाइको व्यवहारबाट पीडित बन्नुपरेको बताउनुभयो । यसकारण, होचा पुड्का व्यक्तिलाई आत्मनिर्भर बनाउन सिलाइबुनाइ तालिम सञ्चालन गरिएको उहाँका भनाइ छ । 

उहाँले होचापुड्काकै उचाइ र आकारको घर बन्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यले हामीलाई बस्ने बास हाम्रै साइजको घर बनाएर संरक्षण गर्नुपर्छ । सबैलाई एकै ठाउँमा राखेर सीप सिक्ने वातावरण बनाउन राज्यसँग हाम्रो अपेक्षा छ । गाडी चढ्दा होस् या कुर्सीमा बस्दा, अस्पतालको काउन्टर जहींतहीं हामीलाई गाह्रो हुन्छ ।” 

उहाँले उच्चस्तरीय शिक्षा हासिल गरे पनि होचा पुड्काले जागिर नै नपाउने समस्या रहेको बताउनुभयो ।


भिडियो: मनोजरत्न शाही 
Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।