• १३ मंसिर २०८१, बिहिबार

जीवन निर्वाहमा सारङ्गीको सहारा

blog

लीलाधर वली

घोराही, फागुन २९ गते । सम्पत्तिका नाममा बस्ने घर मात्रै छ । खेती गर्नका लागि जग्गा जमिन केही छैन । बुवाको निधनपछि घरखर्च जुटाउन सारङ्गीको सहारा लिनु परेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीका १५ वर्षीय शिरकुमार गन्धर्व बताउनुहुन्छ । दिदीको बिहे भइसकेकाले घरमा ५४ वर्षीय आमा रीता गन्धर्व हुनुहुन्छ । पढ्ने, लेख्ने बेला आर्थिक विपन्नताका कारण घर व्यवहार चलाउन सारङ्गी रेट्नु परेको भनाइ शिरकुमारको छ । प्रायः दिनभरि सारङ्गी रेटेर गीत गाउँदै हिँड्ने शिरकुमार अलि–अलि सङ्कलित पैसाबाट घर व्यवहार चलेको बताउनुहुन्छ । गीत गाउँदै कहिले गाउँ, कहिले सहर पुग्ने शिरकुमार भन्नुहुन्छ, “घरमा बुवा हुँदासम्म समस्या थिएन तर बुवाको निधनपछि साँझ–बिहान छाक टार्न समस्या हुन थाल्यो ।” बुवाको निधनपछि सारङ्गीको सहारा खोज्न थाल्नुभएका शिरकुमार गीत पनि गाउनुहुन्छ । घरमा बुवासँगै सबैले सारङ्गी बजाउने र गीत गाउने भएका कारण आफूलाई सिक्न समस्या नभएको शिरकुमार बताउनुहुन्छ । 

कक्षा २ सम्म मात्र पढ्नुभएका शिरकुमार पैसा कमाइने आसमा गाउँका अग्रज दाइसँग काठमाडौँका दोहोरी साँझसम्म पुगेर सारङ्गी बजाउने काम गरेको सुनाउनुहुन्छ । तर त्यहाँको कमाइ बचाउन धौ धौ भएपछि केही समयअघि आफ्नै ठाउँमा फर्किएको उहाँको भनाइ छ । घरमै बसेर विभिन्न गाउँदेखि बजारसम्म गीत गाउन जाँदा दैनिक १३/१४ सयसम्म कमाइ हुने गरेको छ । त्यो पैसा मामाभान्जाले बाँड्ने गरेको उहाँ बताउनुहुन्छ । काठमाडौँबाट फर्किएपछि अहिले मामाभान्जा मिलेर विभिन्न ठाउँमा गीत गाउन जाने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गाउँमा गाउन जाँदा जेजस्तो गाऊ भन्नुहुन्छ, सकेजति गाउने गरेका छौँ । त्यही क्रममा कतिपयले खुसी भएर सय दुईसम्म दिनुहुन्छ । त्यो बेला खुसी लाग्छ ।” एक्लैभन्दा मामाभान्जा सँगै भएर हिँड्दा सहज हुने गरेको उहाँ बताउनुहुन्छ । 

शिरकुमारसँगै भान्जा १७ वर्षीय एकराज गन्धर्व पनि चार/पाँच वर्षदेखि सारङ्गी बजाउँदै गीत गाउँदै आउनुभएको छ । पुख्र्याैली पेसा र कमजोर आर्थिक अवस्थाका कारण थोरै भए पनि कमाउन सकिन्छ कि भनेर आफूहरू सारङ्गी बजाउँदै हिँडेको एकराज बताउनुहुन्छ । 

पढ्ने, लेख्ने उमेर भए पनि सानैमा पढाइ छाडेर गीत सङ्गीतमै लागेका मामाभान्जा गाउँमा पढ्ने, लेख्नेभन्दा सारङ्गी बजाउन र गीत गाउन सिक्नेलाई हौसला र प्रोत्साहन गर्ने भएका कारण पढाइप्रति ध्यानै नपुगेको बताउँछन् । 

भान्जा एकराज भन्नुहुन्छ, “घरमा पढ्नु पर्छ भन्ने वातावरणै भएन । त्यसैले गर्दा पनि होला पढ्नुभन्दा सारङ्गी बजाउने र गीत गाउन सिक्न थालियो ।” गाउँघरमा गएर गीत गाएर आर्थिक सङ्कलन गर्ने कार्यलाई नराम्रो भन्न नहुने उहाँको भनाइ छ । सारङ्गी बजाएर सङ्कलन गरेको पैसाले दैनिक खर्च टर्ने गरेको छ ।