• १२ साउन २०८१, शनिबार

महावीर पुनको पुस्तक विक्रीबाट चार करोड आम्दानी

blog

कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक स्कुलमा आफ्ना पुस्तक बिक्री गर्नुहुँदै वैज्ञानिक महावीर पुन । तस्बिर: गजेन्द्र गुरुङ

खजुरा, फागुन २७ गते । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनद्वारा लिखित ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक हालसम्म चार करोड रुपियाँभन्दा बढीको विक्री भएको छ ।

वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि देशभरि आफ्नो आत्मकथा विक्री गरिरहनुभएका वैज्ञानिक पुनले हालसम्म २३ जिल्लामा पुगेर ५८ हजार थान पुस्तक विक्री गरेको बताउनुभयो । उहाँले पुस्तक बिक्रीबाट ४ करोड ३५ लाख रुपियाँ सङ्कलन गरिएको जानकारी दिनुभयो ।

काठमाडौँबाट हिँडेको ६२औँ दिनमा शनिवार साँझ दाङको तुलसीपुर पुगेको भन्दै यात्रामा ४ हजार १२५ किलोमिटरको सडक यात्रा गरिएको र सुरुदेखि शनिवार ६१औँ दिनसम्ममा उक्त रकम बराबरको ५८ हजार थान पुस्तक बिक्री भएको बताउनुभयो ।

वैज्ञानिक पुनले हालसम्म ५४ हजारको डिजल खर्च र तीन लाख रुपियाँ गाडीको भाडा खर्च भएको जानकारी दिनुभयो । अधिकांश ठाउँमा होटेल र बेलुकीको खाना निःशुल्क रूपमा बन्दोबस्त भएको भन्दै उहाँले पुस्तक बेच्ने सहयोगीहरूसँग दिउँसोको खाना र खाजा खर्च करिब ५० हजार रुपियाँ बराबरको भएको पनि उल्लेख गर्नुभयो ।

उहाँले वीरगन्जको कृषि औजार कारखाना सञ्चालनका लागि सहयोग पुर्याउने उद्देश्यले पुस्तक निकालेरै भए पनि कारखाना सञ्चालनमा ल्याउने अठोट गरेर अहिले पुस्तक बिक्री वितरण गर्दै देशव्यापी अभियानमा लागेको बताउनुभएको छ । पुस्तक बिक्रीका क्रममा देशवासीबाट पाएको माया स्नेह र सम्मान निकै अतुलनीय रहेको जनाउँदै पुनले नेपाली जनताले आफ्नो अभियानलाई भरपुर साथ र सहयोग दिइरहेको बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनसहितको टोली विभिन्न जिल्लामा पुगी त्यहाँका सामाजिक सङ्घ संस्था, विद्यालय, सरकारी तथा निजी कार्यालयहरू, विभिन्न पालिकाहरू तथा सडकका किनारा तथा चोकहरूमा बसेर माइकिङ गर्दै पुस्तकहरू बिक्री गर्दै आएको छ । हरेक जिल्लामा त्यहाँका स्थानीय समाजसेवी युवाहरूले यो अभियानलाई समन्वय गर्दै साथ दिइरहेका छन् ।

बाँकेका विभिन्न स्थानमा केही दिनसम्म पुस्तक बिक्री गरेर पुनको टोली शनिवार साँझ दाङ पुगेको हो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।