ज्ञानु पङ्गेनी
मध्यविन्दु, फागुन १३ गते । निर्वाचनका बेला सवारी चाप कम हुने अवसरलाई सदुपयोग गर्दै नारायणगढ–बुटवल सडक विस्तारको कामलाई तीव्रता दिइने भएको छ।
निर्वाचनको समयमा सडकमा सवारी साधनको चाप घट्ने भएकाले सोही अवधिमा बढी काम गर्ने गरी जनशक्ति व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ। पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार निर्वाचनका कारण नेपाली कामदारहरू घर जाने हुँदा करिब १० दिन काम प्रभावित हुन सक्ने देखिएकाले त्यसको परिपूर्तिका लागि भारतीय मजदुर बोलाएर काम अघि बढाइएको छ।
"निर्माणमा खटिएका अधिकांश कामदार दाङ र सल्यानका हुनुहुन्छ, उहाँहरू मतदानका लागि घर आउजाउ गर्दा केही दिन लाग्छ," खनालले भन्नुभयो, "त्यसैले निर्वाचनका बेला सवारी चाप कम हुने समय पारेर अन्य समयभन्दा बढी काम गर्ने लक्ष्य राखेका छौँ।"
नवलपुर खण्डमा हाल करिब पाँच सय कामदार खटिएको आयोजनाका 'प्रोजेक्ट म्यानेजर' राकेश झाले जानकारी दिनुभयो। "बाँकी काममध्ये धेरैजसो मेसिनबाट गर्नुपर्ने भएकाले करिब चार सय मजदुर र सय जना जति चालक तथा प्राविधिकहरू कार्यक्षेत्रमा हुनुहुन्छ," झाले बताउनुभयो।
सूचना अधिकारी खनालका अनुसार हाल नवलपुरको दाउन्ने खण्डलाई उच्च प्राथमिकता दिइएको छ। कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ भने सडकको बिच भागमा 'डिभाइडर' र बजार क्षेत्रमा 'सर्भिस लेन' निर्माण जारी छ। धेरैजसो पुलको निर्माण सम्पन्न भइसकेको र अरुण खोलाको पुल बिहीबारदेखि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो।

आगामी चैतसम्म कालोपत्रे र सर्भिस लेनको काम सक्ने लक्ष्य राखिएको छ। दाउन्ने क्षेत्रमा अब ढलान र नाली निर्माण मात्र बाँकी छ। चार किलोमिटर ढलान गर्नुपर्नेमध्ये २२ सय मिटर सम्पन्न भइसकेको र १८ सय मिटर बाँकी रहेको आयोजनाले जनाएको छ। आउँदो जेठसम्म दाउन्ने खण्डको एकतर्फी ढलान पूरा गरी सवारी आवागमन सहज बनाइने दाबी गरिएको छ।