गोरखापत्र अनलाइन
- 'जेनजी परिषद्' गठन गर्ने निर्णय
- बुढीगण्डकी आयोजना: बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत
- सार्वजनिक बिदा क्यालेन्डर: विक्रम संवत् २०८३ सालका लागि वर्षभरि दिइने सार्वजनिक बिदाहरूको निर्धारण
काठमाडौँ, फागुन १३ गते । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्दै फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको छ ।
प्रवक्ता अर्यालले बैठकले १६ औँ योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गर्नुभयो ।
यस्तै, सरकारले विक्रम संवत् २०८३ सालका लागि वैशाख १ देखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गरेको प्रवक्ता अर्यालले चर्चा गर्नुभयो ।
बैठकले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले ऊर्जा क्षेत्रमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत केरावारी–न्यू मर्स्याङ्दी, माथिल्लो जुनबेँशी खोला र सेती खोला जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र रुख हटाउन स्वीकृति दिने निर्णय भएको प्रवक्ताले उल्लेख गर्नुभयो ।
प्रवक्ता अर्यालले बैठकले 'जेनजी परिषद्' गठन गर्ने र नेपाल सरकारका सचिवद्वय डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिँदै धन्यवाद दिने निर्णय गरेको जानकारी दिनुभयो ।
साथै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल सम्मेलनमा सहभागी हुन स्वीकृति दिने लगायतका निर्णयहरू भएको उहाँले बताउनुभयो ।

