सप्तरी, वैशाख ११ गते । सप्तरीमा एक युवक १२ दिनदेखि बेपत्ता भएका छन् भने भारतको उत्तर प्रदेशस्थित बनारस शहरबाट अर्का एक युवक २० दिनपछि बिहीबार फेला परेका छन् ।
जिल्लाको सप्तकोशी नगरपालिका–२, सिद्धिपुर टोलका ४३ वर्षीय बिरेन्द्र राम परिवारसँग सम्पर्कविहीन हुनुभएको हो । परिवारजनले रामको हुलियासहित इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिँदै खोजतलासका लागि आग्रह गरेका छन् ।
पेसाले सवारी चालक रहनुभएको राम एक वर्षअघि भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । स्वास्थ्य लाभपछि मजदुरीमा लाग्नुभएका राम अचानक बेपत्ता भएपछि आफूसहित तीन सन्तानको बिचल्ली भएको श्रीमती मजा देवीले बताउनुभयो ।
वडाध्यक्ष जाहिर हुसेनले सबैतिर खोजी गर्दा पनि राम अझै फेला नपरेको र खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो ।
यसैगरी, रोजगारीका लागि बनारस पुगेका सप्तरीको खडक नगरपालिका–११ का ३० वर्षीय विनोदकुमार साह बिहीबार सम्पर्कमा आउनुभएको छ । उहाँका बुवा रामकृष्ण साहका अनुसार, छोराको खोजीका लागि बनारसस्थित भारतीय प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलियासहित निवेदन दिएको २० दिनपछि विनोद फेला पर्नुभएको हो ।
भारतको बनारसमा पहिलेदेखि काम गर्दै आएका गाउँकै राधेश्याम यादवले “फ्याक्ट्रीमा काम लगाइदिन्छु” भन्दै विनोदलाई लगे पनि त्यहाँ अलपत्र छाडेको रामकृष्ण साहले आरोप लगाउनुभएको छ ।
उहाँका अनुसार, काम लगाइदिने भन्दै १८ हजार भारतीय रुपियाँ लिएर राधेश्यामले विनोदलाई बनारसमा छाडेर फरार हुनुभएको थियो ।
घाइते अवस्थामा फेला परेका विनोदलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । छोरालाई लगेर अलपत्र पार्ने राधेश्याम सम्पर्कविहीन रहेको र उनीविरुद्ध भारतीय प्रहरीमा उजुरी गरिएको रामकृष्णले जानकारी दिनुभयो ।