• ११ वैशाख २०८३, शुक्रबार

सुकेपानीमा बेलिब्रिज निर्माणका लागि सवारी बन्द

blog

सुकेपानीस्थित तमोर खोलामाथि बेलिब्रिज निर्माणको कार्य गरिँदै ।तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, वैशाख ११ गते ।
ताप्लेजुङको फुङलिङबाट लेलेप ओलाङचुङगोला हुँदै नेपाल चीन सीमाना टिपताला भन्ज्याङ जोड्ने सुकेपानीमा तमोर नदीमाथि बेलिब्रिज जडान गर्न फक्ताङलुङ गाउँपालिकाले यातायात आवतजावतमा रोक लगाएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै वडा नं. ६ र वडा नं. ७ को संगमस्थल सुकेपानीस्थित तमोर खोलामाथि बेलिब्रिज निर्माणका लागि यातायात आवतजावतमा रोक लगाएको जानकारी गराएको हो ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) का अनुसार उक्त पुलको निर्माण कार्य वैशाख २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा उक्त स्थान हुँदै सञ्चालन हुने ट्याक्टर लगायत अन्य सवारी साधनका कारण काममा अवरोध पुग्ने र निर्धारित समयमै पुल निर्माण सम्पन्न गर्न कठिनाइ हुने देखिएकाले वैशाख ११ देखि २५ गतेसम्म सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिएको हो ।

गाउँपालिकाले यस अवधिमा सुकेपानी क्षेत्र भएर कुनै पनि प्रकारका सवारी साधन सञ्चालन तथा आवतजावत नगर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ। विशेषगरी स्थानीयवासी, ढुवानी व्यवसायी तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र निर्माण कार्यमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ ।

तमोर करिडोर क्षेत्रमा निर्माणाधीन उक्त बेलिब्रिज सञ्चालनमा आएपछि फक्ताङलुङ गाउँपालिकाका दुर्गम बस्तीहरूबिच आवतजावत सहज हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समेत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा तमोर खोलाको बहाव बढ्दा स्थानीयवासीले लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए ।