• १४ फागुन २०८२, बिहिबार

पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मीः पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा

blog

उम्मेदवारहरू

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, फागुन १४ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमा २३ स्वतन्त्रसहित ५५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा रोचक र बहुकोणीय बन्ने संकेत देखिएको छ।

क्षेत्र नं. २ः ‘हेभिवेट’ उम्मेदवारहरू
निर्वाचन क्षेत्र नम्बर २ मा यस पटक पूर्वमन्त्रीहरूको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व कानुन मन्त्री ध्रुवबहादुर प्रधान  आफ्नो विरासत पुन जोगाउने दाउमा हुनुहुन्छ। पूर्व प्रहरी महानिरीक्षक समेत रहनुभएका प्रधान यस क्षेत्रबाट २०७९ प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रबाट निवर्तमान सांसद हुनुहुन्छ।

बागलुङ–२ बाट निर्वाचित हुँदै आउनुभएका पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल ‘सुनील’ यस पटक पश्चिम नवलपरासी–२ लाई आफ्नो नयाँ किल्ला बनाउने रणनीतिसहित नेपाली कम्युनिष्ट पार्टी उम्मेदवारको रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ।

पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरी विभिन्न मधेश केन्द्रित दल हुँदै हाल राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको छ। सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख भीमबहादुर थापा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार हुनुहुन्छ। नेकपा एमालेकबाट लेखनाथ खरेल उम्मेदवारीको हुनुहुन्छ । ३१ वर्ष एमालेमा बिताएर बिचमा माओवादी पुगी पुनः एमालेमै फर्किएका खरेलका लागि यो निर्वाचन ‘अग्निपरीक्षा’ जस्तै बनेको छ। कांग्रेसको लामो राजनीति र रामग्राम नगरपालिकाको पूर्व प्रमुखको पहिचान बनाएका नरेन्द्रकुमार गुप्ता  यस पटक रास्वपाबाट  चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

“क्षेत्र नं. २ मा पूर्व मन्त्रीहरूको उपस्थिति छ, जसले गर्दा यहाँको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। मतदाताहरू विकासका पक्षमा देखिएका छन्,’’ स्थानीय विश्लेषकहरू बताउँछन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पश्चिम नवलपरासीमा १२२ मतदान स्थल र ९७ मतदान केन्द्र तय गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।