तिलाचन पाण्डे
तम्घास (गुल्मी), फागुन १४ गते । मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।
कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिकाको अध्यक्ष स्तरको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको होे । उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायतका कार्यालयहरू बन्द रहने गाउँपालिकाले जनाएको छ ।
मगर समुदायले नेपालको इतिहास, संस्कृति भाषा, परम्परा, कला, लोकसंस्कृति तथा राष्ट्रिय एकताको माध्यमबाट राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान गरेकाले सार्वजनिक बिदा दिइएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो । स्थानीय कला संस्कृति परम्परालाई संरक्षण गर्नु पालिकाको दायित्व भएको पनि उहाँको भनाइ छ । मगर दिवसका अवसरमा यहाँका स्थानीय मगरहरूले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेका छन् ।