इनरुवा, फागुन १४ गते । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आज बिहान वराहक्षेत्र नगरपालिका–११, गुप्ताटोलस्थित भित्रि सडकमा को. २५ प. १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा ऋषिदेव गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनमा दुहबी–५ का दिपेन ऋषिदेव घाइते हुनुभएको छ । उहाँको उपचार भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ । विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च. ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र. १–०२–००३ ह. ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो ।
सो ठक्करबाट इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन् । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस