१) ओखलढुङ्गा– लगभग छ वर्गफिटको मध्यमा खोपिल्टो परेको ओखल जस्तो एउटा ढु्ङ्गा र नजिकै एउटा मुसल पनि रहेको ठाउँ हुनाले ओखलढुङ्गा नाम रहन गएको बताइन्छ ।
२) इलाम– लिम्बू भाषामा इ भनेको घुमाउरो र लाम भनेको बाटो भन्ने अर्थ लाग्ने भएकाले इलाम रहन गयो ।
३) इन्द्रचोक– इन्द्रजात्राको दिन इन्द्रको प्रतिमा प्रदर्शन गरिने प्रमुख स्थल भएकाले इन्द्रचोक भनिएको हो ।
४) कपिलवस्तु– कपिल ऋषिको आश्रम रहेको स्थानमा शाक्यवंशका मानिसले उनै कपिल ऋषिको आदेशानुसार सहर बसाएको हुनाले उक्त ठाउँको नाम कपिलवस्तु रहेको देखिन्छ ।
५) काठमाडौँ– काठ बढी हालेर बनाइएको प्राचीन शैलीको मण्डप बनाइयो काष्ठमण्डप र त्यही शब्द अपभ्रंश भई काठमाडौँ नाम रहन गएको मान्यता छ ।
६) कास्की– कश्यप ऋषिले तपस्या गरेको क्षेत्र भएकाले सङ्क्षेपमा कास्की भन्न थालिएको हो ।
७) कुश्मा– मुक्तिनाथ जाने जोगीले कुसुम ढकमक्क फुलेको देखेपछि उक्त ठाउँको नाम कुसुम राखे । पछि अपभ्रंश भई कुश्मा रहन गएको देखिन्छ ।
८) खोपासी– संस्कृतमा कुप्पसिकको अर्थ कपासको लुगा भन्ने हुन्छ । यही शब्द अपभ्रंश भई कुप्पसीग्राम भयो र कालान्तरमा नेवारी भाषामा खोपासी भन्न थालियो ।
९) गोसाइँकुण्ड– गो भन्नाले जीवजन्तु साइँ भन्नाले मालिक अर्थात् पशुपति रहेको कुण्ड हुनाले गोसाइँकुण्ड भन्न थालियो ।
१०) चन्द्रागिरि– चन्दनको जङ्गल भएको पर्वत हुनाले चन्दनगिरि भनियो र त्यसैको अपभ्रंश चन्द्रागिरि भएको हो ।
११) चाबहिल– चारुमतीले स्थापना गरेको चारुमती विहारको नाम अपभ्रंश भई चाबहिल भएको देखिन्छ ।
१२) चाँगुनारायण– चाँपको रुखबाट निस्केको विष्णु हुनाले चाँगुनारायण भन्न थालियो ।
१३) छेत्रपाटी– छत्र अर्थात् छाताको जस्तो आकारको पाटी बनेको ठाउँलाई छत्रपाटी भन्दाभन्दै पछि गएर छेत्रपाटी भन्न थालियो ।
१४) जनकपुर– मिथिलाका राजा जनकको राजधानी रहेको ठाउँ भएकाले जनकपुर भनियो ।
१५) डडेलधुरा– स्थानीय भाषामा ढाडलाई डँडेल र डाँडालाई धुरा भनिने हुँदा मान्छेको ढाड जस्तो देखिने बजारलाई डडेलधुरा भन्न थालियो ।
१६) तानसेन– राजा ताम्रसेनका नामले बसाइएको बस्तीको नाम अपभ्रंश भई तानसेन नाम रहन गयो ।
१७) ताप्लेजुङ– तिब्बती भाषामा ताप्लेको अर्थ राजाको र जोको अर्थ किल्ला हुने हुँँदा यसैबाट जिल्लाको नाम ताप्लेजुङ रहन गयो ।
१८) दोलखा– दुई लाखचोटि चक्कर लगाउँदा पनि घुमिफिरी उही ठाउँमा पुगिने भएकाले उक्त ठाउँलाई दोलखा भन्न थालियो ।
१९) धनुषा– सीताको स्वयम्बर समारोहमा रामले शिवधनुमा ताँदो चढाउन खोज्दा भाँचिएर एक टुव्रmा भई खसेको ठाउँ भएकाले धनुषा नाम रहन गयो ।
२०) नारायणहिटी– नारायणस्थान नजिकै धारा रहेको हुनाले उक्त ठाउँको नाम नेवारी भाषामा नारायणहिटी रहन गयो ।
२१) पनौती– पुण्यवतीको अपभ्रंश रूप नै पनौती भएको देखिन्छ ।
२२) फिदिम– लिम्बू भाषामा फराकिलो ठाउँलाई फेदेन भनिन्छ । त्यसैबाट फिदिम नाम रहन गयो ।
२३) विराटनगर– राजा विराटको राजधानी रहेको ठाउँ भएकाले विराटनगर भनियो ।
२४) सप्तरी– संस्कृत भाषाको शप्तअरि अर्थात् शत्रुरूपि सात वटा कोशी बग्ने क्षेत्र हुनाले सप्तरी भनियो ।
२५) सिन्धुपाल्चोक– सिन्धुकोट र पाल्चोक नाउँका दुई डाँडाको संयुक्त नामबाट जिल्लाको नाम रहन गएको देखिन्छ ।
२६) हनुमानढोका– दरबारको मूल ढोकामा राजा प्रताप मल्लले हनुमानको मूर्ति राख्न लगाएकाले हनुमानढोका भनियो ।
२७) हेलम्बु– शेर्पा भाषामा हेल भनेको फन्को र मो भनेको ठाउँ हो । वरिपरि डाँडाले बेरेको जस्तो देखिने हुँदा ह्याल्मो भन्दाभन्दै हेलम्बु रहन गएको हो ।
२८) धनकुटा– ढिकीको खाँबा जस्ता देखिने डाँडा र धान कुट्ने ओखल जस्तो देखिने कागते पोखरीको नाम धानकुटा रह्यो र त्यसैको अपभ्रंश रूप नै धनकुटा हो ।