• १५ वैशाख २०८१, शनिबार

तरकारीमा विषादी परीक्षण

भान्सामा पुगेपछि रिपोर्ट सार्वजनिक

blog

काठमाडौँ, फागुन २३ गते । देशकै ठुलो तरकारी बजार कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ ।

 केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बजारमा भित्रिएका केही तरकारीको नमुना सङ्कलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । 

गत शुक्रबार १८ गते कालीमाटी फलफूल तथा तरकारी बजारमा धादिङबाट भित्रिएको ब्रोकाउलीको नमुना परीक्षणको रिपोर्टमा खान नहुने विषादी भेटियो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ । परीक्षणको रिपोर्टमा अर्गानोफन्टफेट नामक विषादीको अवशेष ७० प्रतिशत भेटियो ।

 प्रयोगशालाले ब्रोकाउली परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसमक्ष बिहान ७ बजे रिपोर्ट बुझायो । समितिका सुरक्षागार्डसहित तरकारी स्टलमा ९ बजे पुग्दा घातक विषादी भेटिएको ब्रोकाउली सबै बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसकेको थियो । बाँकी रहेको ब्रोकाउली समितिको नेतृत्वमा नष्ट गरियो । 

कालीमाटी समितिका अनुसार बजारमा सामान्यतया तरकारी राति १२:०० देखि बिहान ३:०० बजेभित्र आइसक्छ । बिहान ३:०० बजेदेखि ६/७ बजेसम्म लगभग सबै तरकारी स्थानीय बजार, खुद्रा बजार हुँदै उपभोक्ताको भान्सामा पुगिसक्छ । 

तरकारी भान्सामा पु¥याइसकेपछि बल्ल विषादी परीक्षणको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय प्रयोगशाला अन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयम् प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको प्रभावकारिता कमजोर हुँदै गएको बताउनुभयो । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पु¥याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ६/७ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही अर्थ हुँदैन । उहाँले प्रश्न गर्दै भन्नुभयो, “बजारबाट लगिएका तरकारी ८ बजेसम्म भान्सामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?” 

केन्द्रीय कृषि प्रयोगशालाका निमित्त प्रमुख राजीवदास राजभण्डारीले प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए हामीलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताउनुभयो । “हामीले राति आएर परीक्षण गरेर दिएको प्रतिवेदन अनुसार तरकारी नष्ट हुन्छ कि हुँदैन, त्यो पनि सुनिश्चित हुनुपर्ला नि,” उहाँले थप्नुभयो । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने जनाएको छ । बजारमा सुरक्षागार्डदेखि कर्मचारी साथीहरू रातिदेखि काम गरिरहने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने समितिले जनाएको छ । 

कालीमाटी प्रयोगशालामा कार्यरत कर्मचारी भने तरकारी परीक्षणका लागि नमुना लिनसमेत आफूहरूलाई समस्या भएको बताउँदै आएका छन् । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक उपत्यका भित्रिने तरकारीमध्ये ब्रोकाउली, गोलभेँडा, काउली, पार्टेसिमी र रायोमा खान नहुने विषादीको अवशेष भेटिएको जानकारी दिइयो । 

प्रयोगशालाका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारको प्रयोगशालामा आर्थिक वर्ष २०८०/८१ को फागुन २२ गतेसम्म ७१९ वटा नमुना परीक्षण गरेकोमा १२ वटामा नष्ट गर्नुपर्ने विषादीको अवशेष भेटियो भने चार वटा केही दिन पर्खेर पुनः परीक्षण गर्नुपर्ने देखियो । बाँकी उपभोगका लागि योग्य भएको पाइयो । 

विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र खान मिल्ने भनी वर्गीकरण गरिएको छ । विषादी अवशेषको रोकावट दर ३५ देखि ४५ प्रतिशतसम्म भएको केही दिनपछि पर्खेर पुनः परीक्षणमा ठिक भएमा बिक्रीका लागि बजार पठाउन सकिने व्यवस्था छ । विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुु पर्छ । 

त्यसो त कालीमाटीको प्रयोगशाला सञ्चालनमा आएको पहिलो वर्ष पहिलो महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो । एकाइले सुरुमा कीटनाशक अर्गायानो–फस्फेट र कार्बामेट्स समूहको विषादीको अवशेष मात्रै परीक्षण गर्दै आएको छ । 

केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगन्ज र अत्तरियामा पनि प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् । 

तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको पहलमा २०७१ सालको असार अन्तिम साता कालीमाटी तरकारी बजारमा द्रुत विषादी परीक्षण प्रयोगशाला स्थापना गरिएको थियो ।