• १३ साउन २०८१, आइतबार

घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

blog

मैवाखोला गाउँपालिका–५ फाकुम्बाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २२ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ज्येष्ठ तथा अपाङ्ग नागरिकको निरन्तर स्वास्थ्य परीक्षण गरिँदै आएको छ। ज्येष्ठ तथा अपाङ्ग नागरिकको घर–घरमा पुगेर उहाँहरुको निरन्तर स्वास्थ्य परीक्षण गरिएको हो। 

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको निरन्तर स्वास्थ्य परीक्षण हुँदै आएको हो। गाउँपालिकाभित्रका पूर्ण अर्थात ‘क’ र ‘ख’ वर्गका अपाङ्ग नागरिकसमेतको निरन्तर स्वास्थ्य परीक्षण गर्ने गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो। प्रत्येक महिनामा एकपटक ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाको योजनालाई कार्यान्वयनमा निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो।

गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० को कात्तिक महिनादेखि ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको थियो। लक्षित वर्ग अर्थात ज्येष्ठ तथा अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य १६ महिनादेखि निरन्तर जारी रहेको वडा १ का वडाध्यक्षसमेत रहनुभएका गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो। 

प्रवक्ता तामाङका अनुसार फागुन महिनाका लागि अहिले प्रत्येक वडामा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ र अपाङ्ग नागरिकको स्वास्थ्य परीक्षण हुँदै आएको छ। गाउँपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पालिकाका ६ वटै वडामा पुगेर लाभग्राहीलाई स्वास्थ्य परीक्षण सेवा प्रवाह गरिरहनुभएको उहाँले बताउनुभयो। ज्येष्ठ तथा अपाङ्गको स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण र उनीहरुलाई आवश्यक स्वास्थ्य परामर्शसमेत दिँदै आएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो।