काठमाडौँ, असार ११ गते । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीनतले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिरमान अमात्यको स्वामित्वमा थियो।
जग्गा खरिदका लागि असार ११ गते नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गाधनीसँग सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपियाँ बैना गरिएको छ।
उक्त जग्गा र घर १३ करोड रुपियाँमा खरिद गरिएको हो। नेपाली काँग्रेसले यो रकम पार्टीको विभिन्न तहको लेबी र शुभेच्छुकको सहयोगमार्फत जुटाउने योजना बनाएको छ। विज्ञप्तिमार्फत यो खरिद प्रक्रियामा सबैको अपनत्व हुने गरी रकम चुक्ता गरिने उल्लेख गरिएको छ।
नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।