• १३ असार २०८२, शुक्रबार

बालिका हत्या आरोपी पक्राउ

blog

भोटेकोशी गाउँपालिका –५ की बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपीहरु ।

चित्रकुमार मिजार

सिन्धुपाल्चोक, असार १३ गते । भोटेकोशी गाउँपालिका –५ कोलगाउँकी ११ बर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेर हत्या गर्ने सोही स्थानका पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार करणीपछि हत्यामा संलग्न रहेको आशङ्कामा भोटेकोशी गाउँपालिका–५ का २१ वर्षीय निमा तेन्जिङ तामाङ, सोही स्थानका २२ बर्षीय वाङनिमा तामाङ, सोही ठेगानाका ३२ वर्षीय नामग्याल शेर्पा, उक्त स्थानकै २० वर्षीय दावा तामाङ र सोही ठेगानाका २२ वर्षीय लाक्पा पासाङ तामाङलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत  सार्वजनिक गरिएको छ । 

हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गरिरहेको एसपी कार्कीले बताउनुभयो । मुलुकी अपराध संहिता २०७४ को करणी र ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो । 

असार ११ गते भोटेकोशी गाउँपालिका –५ छ्याङ्गदीमा जङ्गलमा नाबालिकाको शव भेटिएको थियो । नाबालिकाको शवलाई परीक्षणका लागि त्रि.वि, शिक्षण अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका आरोपीको घर खानतलासी गर्दा प्रहरीले दसी प्रमाणहरु फेला पारेको जनाएको छ ।