• १३ असार २०८२, शुक्रबार

लालबन्दीमा पुनः देखियो लम्पी स्कीन

blog

लालबन्दी –८ मा लम्पी स्कीन रोगबाट ग्रसित गाई । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १३ गते । सर्लाहीको लालबन्दी नगरपालिकाका दुई जना किसानले पालेको गाईमा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । दुई वर्षअघि यो सङ्क्रामक रोगले देशव्यापी महामारीको रुप लिएको थियो ।

लालबन्दी नगरपालिकाको पशु सेवा शाखाका अनुसार अहिले पुनः लालबन्दी नगरपालिका –८, र लालबन्दी नगरपालिका –१७, का दुई जना किसानले पालेको गाईमा लम्पी स्कीन देखा परेको हो । 

लालबन्दी –८ मा ब्याउने गाई र लालबन्दी १७ मा बाच्छीमा लम्पी स्कीन रोग देखा परेको लालबन्दी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख एवं पशु विकास अधिकृत डा. विमल श्रेष्ठले जानकारी दिनुभयो । डा. श्रेष्ठका अनुसार लम्पी स्कीन देखिएका दुईवटै गाईको शरीरमा फोका आउने, उच्च ज्वरो आउने र घाँस नखाने समस्या देखिएको छ । 

दुई वर्षअघि नगरभित्र ६ हजार गाई, भैँसीमा लम्पी स्कीनविरुद्धको भ्याक्सीन लगाउँदा अहिले रोग देखिएका दुईवटै गाई छुटेका थिए । दुई वर्षपछि नगरभित्र पुनः लम्पी स्कीन देखा परेपछि छेउछाउका अन्य गाई, भैँसीलाई खोप लगाउन नगरपालिका कार्यालयमा समन्वय गरिरहेको पशु सेवा शाखाका प्रमुख डा. श्रेष्ठले बताउनुभयो ।  

लम्पी स्कीन देखिएका गाईबाट नजिकका अन्य गाई तथा भैँसीमा पनि यो रोग सर्न सक्ने भएकाले सावधानी अपनाउन जरुरी रहेको डा. श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “दुई वर्षअघि भ्याक्सिनेसन गरिएकाले पहिलेजस्तो तीव्र गतिमा लम्पीको सङ्क्रमण फैलिएको त छैन्, तर जहाँ पुनः सङ्क्रमण देखिएको छ त्यस आसपासका किसानले सावधानी अपनाउनु जरुरी छ ।”

लम्पी स्कीन गाई र भैँसीमा धेरै मात्रामा देखा पर्ने गरेको छ । लम्पी स्कीन लागेका चौपायलाई १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, शरीरमा साना–ठुला फोका निस्कने, खुल्टा, पातो र घाँटीको भाग सुन्निने, विस्तारै घाँस खान छाड्नेजस्ता लक्षण देखा पर्ने डा. श्रेठले बताउनुभयो । 

लम्पी स्कीन लागेको गाई वा भैँसीलाई टोकेको झिँगा र भुसुनाले अन्य चौपायलाई टोक्दा रोग सर्ने जोखिम हुन्छ । लम्पी स्कीन लागेको चौपायालाई बेग्लै बाँध्न, खोर वा गोठ नियमित सरसफाई गरेर चुना तथा फिनेल छर्कन र पशु प्राविधिकलाई बोलाएर उपचार गराउन डा. श्रेष्ठको सुझाव छ ।