• १३ असार २०८२, शुक्रबार

सहकार्य नगरे एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा

blog

श्रद्धाञ्जली सभामा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

वसन्त पराजुली

नारायणगढ, असार १३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले अन्य दलसँग सहकार्य नगरे स्पष्ट बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ । 

समाजसेवी तथा कांग्रेस नेतृ गौरीदेवी प्रधानको शुक्रबार सातौँ पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले अन्य दलसँग सहकार्य नगरे बहुमत ल्याउने अवस्था नभएकै कारण वामपन्थी दलसँग सहकार्य गरिरहनु परेको बताउनुभएको हो ।

"हिजो माओवादी, अहिले एमालेसँग सहकार्य गर्नु हाम्रो बाध्यता हो । सहकार्य नगरे त चुनावमा एकल बहुमत ल्याउन गाह्रो छ", उहाँले भन्नुभयो । उहाँले समावेशी सहभागिता संविधानको राम्रो पक्ष भएको पनि बताउनुभयो ।

उहाँले स्वर्गीय गौरी देवी र उहाँका श्रीमान श्यामकृष्ण प्रधान प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी भएको बताउनुभयो । गौरीदेवी र श्यामकृष्णले छाडेर गएको योगदानलाई पार्टीले स्मरण गरि राखेको बताउनुहुँदै सभापति देउवाले अब त्यो जिम्वेवारी आफूहरुले पूरा गर्ने बताउनुभयो ।


सो अवसरमा कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसभित्रका पुराना तिता कुराहरु बिर्सेर पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध गर्नुभयो ।

"अब पार्टीलाई बलियो बनाएर सम्वृद्धि ल्याउने कुरामा गौरीदेवीको योगदानले प्रेरणाा दिने विश्वास लिएको छु", उहाँले भन्नुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले लोकतन्त्र, कांग्रेस र समाजप्रति गौरीदेवीको योगदान अतुलनीय रहेको बताउनुभयो।

"गौरीदेवीको योगदानको चर्चा गर्दा उहाँका श्रीमान श्यामकृष्ण प्रधानको योगदान भुलियो भने अपुरो हुन्छ", उहाँले भन्नुभयो । स्वर्गीय श्यामकृष्ण २००७ सालको क्रान्तिमा बन्दिपुर कब्जा गरेपछि गठित जनसरकारका गृहमन्त्री हुनुहुन्थ्यो ।

यसैगरी, निधिले वामपन्थीसँगको गठबन्धन परिस्थिति जन्य अवस्था भएको बताउनुभयो । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीका लागि गौरीदेवीको ठूलो सहयोग रहेको बताउनुभयो ।

गौरीदेवीका छोरा सुवास प्रधानले आमालाई आफूले शालिनता, त्याग र निष्ठाको प्रतिमूर्तिका रुपमा लिने गरेक‍ो बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमा रेग्मी, कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ लगायतकाे उपस्थिति थियाे ।