• १३ मंसिर २०८१, बिहिबार

चन्दा उठाएर शम्सानघाट निर्माण

blog

बाँकेको खजुरा ४ स्थित शम्सानघाटमा व्यवस्थापन समितिको प्रथम साधारण सभा गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, फागुन २० गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरणनालामा व्यवस्थित शम्सानघाट निर्माण कार्य अघि बढेको छ ।

शम्सानघाट व्यवस्थापन समितिका पूर्व अध्यक्ष उज्ज्वल बिसीका अनुसार स्थानीय बासिन्दाले करिब पाँच लाख रुपियाँ चन्दा सङ्कलनबाट जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण कार्य सुरु गरिएको हो । 

सो कार्यका लागि स्थानीय जङ्गलीप्रसाद बनियाले एक कठ्ठा जग्गा दान गर्नुभएको छ । चन्दा सङ्कलनबाट थप दुई कठ्ठा जग्गा खरिद गरी व्यवस्थित घाट निर्माण थालिएको हो । घाट निर्माणका लागि स्थानीयले प्रत्येक घरधुरीबाट सहयोग उठाएको छ । 

 खजुरा गाउँपालिका वडा नम्बर ४ ले करिब १५ लाख रुपियाँमा दुईवटा टहरा र घाट निर्माण गरिदिएको छ । 

खजुरा ४ का ईगाउँ, एफगाउँ, चल्तुवा, पार्वतीपुर, सम्मगाउँ, बुद्धपुर, बैजनाथ गाउँपालिकाको वडा नम्बर ७ परशरामपुर, ठाकुरपुर लगायतका दर्जनबढि बस्तीको साझा एकमात्र शम्सानघाट व्यवस्थित बनाउन थालिएको शम्सानघाट व्यवस्थापन समितिका पूर्व अध्यक्ष उज्ज्वल बिसीले जानकारी दिनुभयो ।

पूर्व अध्यक्ष बिसीले भन्नुभयो,‘ पाँचदशक पुरानो घाटलाई व्यवस्थित बनाउनका लागि स्थानीय सबैजनाले साथ र सहयोग गर्नुभएको छ ।’ टहरा निर्माण भएपछि घाम पानीमा मलामीलाई सहज भएको बिसीले बताउनुभयो । 

किरणनालाको कटानबाट घाटलाई जोगाउनुपर्ने भन्दै बिसीले माटो पटान तथा शौचालय,विद्युतीकरण र खानेपानीको समस्या समाधानका लागि समितिले पहल गरिरहेको छ ।

 नजिकैको घाट व्यवस्थित गर्न सकेमा  दाह संस्कारका लागि राप्ती नदी र मानखोला सम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुने भन्दै स्थानीयहरू घाट व्यवस्थापनमा जुटेको स्थानीय देवराम बिसीले जानकारी दिनुभयो ।

यसैबिच शम्सानघाट व्यवस्थापन समितिको प्रथम साधारण सभाले गोविन्द शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ ।