• २१ वैशाख २०८२, आइतबार

शिक्षकलाई खुँडा हान्ने विद्यार्थी पक्राउ

blog

लिलाधर वली

घोराही, वैशाख २१ गते । दाङमा प्रहरीले शिक्षकलाई खुँडा प्रहार गरेर फरार भएका विद्यार्थीलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहागनरपालिका–६ रजौरास्थित हिमाल एकाडेमीमा शिक्षकमाथि खुँडा प्रहार गरेर फरार रहेका कक्षा १२ मा अध्यनरत २१ वर्षीय विद्यार्थी सुरेश विकलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार वैशाख १९ गते शुक्रबार बिहान सवा ९ बजेतिर विद्यालयमै शिक्षक बिशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका थिए । खुँडा प्रहारपछि फरार रहँदै आएका बिकलाई प्रहरीले शनिबार राति पौने ९ बजेतिर तुलसीपुर–४ को हलवारबाट नियन्त्रणमा लिएको सूचना अधिकारी शाहले बताउनुभयो । 

पक्राउ परेका विद्यार्थीले फागु पूर्णिमाको दिनमा शिक्षक श्रेष्ठले आँफुमाथि बिद्यालयमै कुटपिट गरेको र त्यो कुटपिटपछि आफूले एउटा कान सुन्न छोडेको हुँदा त्यसको बदला लिन खुँडा प्रहार गरेको प्रहरीमा प्रारम्भिक बयान दिएको प्रहरीले जानकारी दिएको छ । 

प्लस टु संयोजक समेत रहेका शिक्षक श्रेष्ठमाथि धारिलो हतियार खुँडा प्रहार गर्दा कुम, दुबै हात लगायत शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षक श्रेष्ठ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।