• ७ पुस २०८२, सोमबार

ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई

blog

अस्मिता पोखरेल 

धादिङबेँसी, पुस ७ गते । ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ । ज्वालामुखी–५, खरीस्थित उक्त विद्यालयले १२ स्वर्ण, पाँच रजत तथा तीन कास्य पदक जित्दै समग्र विजेता बनेको हो ।

प्रतियोगितामा सुनखानी माध्यमिक विद्यालयले १० स्वर्ण, सात रजत र ११ कास्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने अन्नपूर्ण माध्यमिक विद्यालयले छ स्वर्ण, सात रजत र आठ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको अध्यक्षतामा सम्पन्न समापन समारोहमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। 

सो अवसरमा मन्त्री अधिकारीले खेलकुदले अनुशासन, सहकार्य र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।  यस्ता प्रतियोगिताले ग्रामीण तहमा रहेका प्रतिभा पहिचान र उजागर गर्न सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनु भयो । उहाँले आफ्नो जन्मभूमिप्रति उत्तरदायी हुँदै आधुनिक नेपाल निर्माणका लागि युवा पुस्तासँग सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा समेत व्यक्त गर्नु भयो ।

समारोहमा गाउँपालिका अध्यक्ष दनैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा प्रतियोगिता सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भयो ।