हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), पुस ७ गते । उपल्लो मुस्ताङको लोमान्थाङ सामुदायिक स्वास्थ्य शाखामा कार्यरत रामलाल गुरूङ कठ्याङ्ग्रिँदो जाडोमा स्थानीयको स्वास्थ्य परीक्षणमा व्यस्त हुनुहुन्छ ।
चिसो छल्न बिस्तारै बस्ती छोडेर बेंसी झर्न थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङको स्वास्थ्य सहायक गुरूङ रहेका बालबालिकादेखि वृद्धवृद्धालाई चिसोबाट लाग्ने रोगबाट जोगिने उपाय सिकाउँदै स्वास्थ्य परीक्षणमा बस्ती–बस्तीमा पुग्नुहुन्छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा चिसो मौसममा मोबाइल क्लिनिक सञ्चालन गरी पशुचौपायाको रेखदेखमा ब्यस्त गोठालाा भएको चरन क्षेत्रसम्म पुगेर उपचार गर्ने स्वास्थ्यकर्मी गुरूङ दैनिकी जस्तै हो।
चिन र नेपालको सिमानामा अवस्थित कोरला नाका, छोसेर छोण्हुप, लोमान्थाङ, घमी, सुर्खाङ र चराङको बस्तीमा स्थानीयको संख्या पातलिँदै गएपनि गुरूङको दौडधुप बढेको छ । स्वास्थ्यकर्मी गुरूङ भन्नुहुन्छ,‘‘बस्तीमा वृद्धवृद्धा धेरै हुनुहुन्छ,जाडो मौसममा लाग्ने रोगबाट ग्रसित बिरामीको उपचारका लागि मोबाइल क्लिनिक लिएर घरदैलोमै पुग्छु ।’’ चिसोमा मधुमेह, उच्च रक्तचाप, छाला सुख्खा हुने, आँखा पोल्ने, रुघाखोकी, नसासहित धेरैजसो वृद्धवृद्धामा हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्या धेरै भेटिने स्वास्थ्यकर्मी गुरूङको भनाइ छ ।
लोमान्थाङ गाउँपालिका–५,को विकट गोठमा पशुचौपाया कुरेर बसेकालाई उपचार गरी फर्किनुभएका गुरूङले बस्तीभन्दा माथिल्लो क्षेत्रमा पनि स्थानीयको बसोबास रहेकाले दुई दिनसम्म पैदलयात्रा गरी पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । चिसो बढेसँगै मङ्सिरदेखि फागुनसम्म उपल्लो मुस्ताङका सबै बस्तीमा रहेका सर्वसाधारणको उपचारमा पुग्ने गुरूङले बताउनुभयो । वि.सं २०५० भदौ ७ गतेबाट स्वास्थ्य सेवामा प्रवेश गर्नुभएका गुरूङले घरदैलोमै पुगेर सुत्केरी सेवा, चोटपटक लागेका, लेक लागेर सिकिस्त बिरामीको उपचारका कारण उपल्लो मुस्ताङबासीमा लोकप्रिय हुनुहुन्छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इलाका कार्यालयका प्रमुख उमेश पौडेलले तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा खटिनुभएका गुरूङ जाडो मौसममा झनै सक्रिय हुने गरेको बताउनुभयो। एक्याप प्रमुख पौडेलले भन्नुभयो,‘‘उहाँको सक्रियतामा धेरैले ज्यान जोगाएका छन्,उपचारका लागि रातदिन खटिनुहुन्छ।’’ चिसोबाट जोगिने नाममा चुरोट तथा सुर्तीजन्य पदार्थका साथै मदिरा सेवन गर्दा झनै समस्या हुने भएकाले बाख्लो कपडा र न्यानोमा बस्न सुझावसमेत दिने गरिएको छ । केहीदिन अगाडि शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा स्वास्थ्यकर्मी गुरूङको प्रयासमा उद्धार भएको थियो ।
करिब १५ मिनेट सिपिआरको माध्यमबाट छात्रालाई खतरामुक्त बनाएपछि स्वास्थ्यकर्मीले कलेजकी शिक्षक स्वस्तिका डेटेललाई जिम्मा लगाइएको थियो । स्वास्थ्य सहायक गुरूङले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, वडा नं ५ को साङ्ता र चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै वडामा घुम्ती शिविर, मोबाइल क्लिन, घरदैलो उपचार अभियान सञ्चालन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इलाका कार्यालयले जनाएको छ ।