• २१ वैशाख २०८२, आइतबार

बागमतीको डाइभर्सन बाढीले बगायो, यातायात अवरुद्ध

blog

बागमती नदीमा बनाइएको डाईभर्सन बाटो बगाएपछि अवरुद्ध सडक । तस्बिर सौजन्यः जिल्ला प्रहरी कार्यालय मकवानपुर

अनिल पराजुली

हेटौँडा, वैशाख २१ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्ड वर्षाका कारण अवरुद्ध भएको छ । शनिवार रातिबाट परेको पानीका कारण सवारी साधन आवत–जावत गर्न बनाएको डाइभर्सन बाटो बगाएकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।  

आज आइतवार बिहानदेखि मकवानपुर र ललितपुरको सिमानास्थित मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ मा बागमती नदीमा बनाइएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरी टोलीले अवरुद्ध बाटो खुलाउने पहल गरिरहेको उहाँले बताउनुभयो । 

प्रशासनले यसअघि कान्ति लोकपथ सडकको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारका लागि वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने जानकारी दिएको थियो । निरन्तर वर्षा भइरहेकाले हेटौँडा–काठमाडौँ यात्रा गर्दा सुरक्षित भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सडकको अवस्था बुझेर यात्रा गर्न आग्रह गरिएको छ ।