गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २१ गते । स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न कक्षा १२ पास गरेका विद्यार्थीले पढ्न पाउने जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममा १२ पास गरेका विद्यार्थीले जनरल नर्सिङ अध्ययन गर्न पाउने कार्यक्रम चलाइने उल्लेख छ । हाल एसइई पास गरेपछि पिसिएल नर्सिङ पढ्न पाइने व्यवस्था छ । स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बिएनएस) तीन र चारबर्से बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।
साथै सरकारले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन बिमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ । यस कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ । नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने बताइएको छ । यसै गरी सरकारले न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने भएको छ । मस्तिष्क, मेरुदण्ड, नसा तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोग पहिचान, उपचार र पुनस्र्थापनाका लागि उक्त केन्द्रले काम गर्ने छ ।
क्यान्सर र मिर्गौला उपचार सेवा प्रदेशमा समेत विस्तार गर्ने नीति सरकारको छ । सङ्घीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्राधिकरण ऐन ल्याउने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले गम्भीर रोगको उपचार स्वास्थ्य बिमाबाट गर्न सुविधा थैली परिमार्जन गर्ने भएको छ । गम्भीर रोगको उपचार स्वास्थ्य बिमाबाट गर्नका लागि सुविधा थैली परिमार्जन गरिने भएको हो । स्वास्थ्य बिमा बोर्डको पुनर्संरचना गरिने तथा आधारभूत र अत्यावश्यक औषधी बिमा प्रणालीमा समेटिने नीति कार्यक्रममा उल्लेख छ ।
हाल स्वास्थ्य उपचारमा छरिएका सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत गर्नुका साथै प्रभावकारी बनाइने छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको उपचार तथा उद्धार थप प्रभावकारी कार्यक्रम बनाउन लागिएको छ । ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार व्यवस्था मिलाउने नीति तथा कार्यक्रम छ । यसै गरी सरकारले उत्पीडित वर्ग र समुदायलाई चिकित्सा सेवामा आरक्षण व्यवस्था गर्ने घोषणा गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाइने उल्लेख छ । स्वास्थ्य क्षेत्रका जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय सेवाका लागि सरकारले सङ्घीय स्वास्थ्य सेवा ऐन जारी गर्ने छ ।