रमेश विश्वकर्मा
गुल्मी, वैशाख २१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशमा अब आर्थिक र सामाजिक रूपान्तरण जरुरी रहेको बताउनुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएको बताउनुभएको हो।
नेता गुरुङले अब नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार लगायतका आधारभूत आवश्यकता पूरा गर्दै समाजवादी क्रान्तिको यात्रामा अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो। समाजवादी व्यवस्था निर्माण नहुँदासम्म संविधान निर्माणका बाँकी कार्यभार पूरा नहुने बताउनुभयो। अबको यात्रा आर्थिक क्रान्ति भन्दै उहाँले नेपालमा सबै कम्युनिस्ट एक हुने अभियानमा अगाडि बढेको बताउनुभयो।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले ल्याएको व्यवस्थामा अन्य तत्त्व हाबी हुन खोजेको आरोप लगाउनुभयो। अन्य तत्वलाई हाबी हुन नदिन माओवादी सजक हुनुपर्ने बेला आएको उहाँको भनाइ छ। सम्मेलनबाट मानबहादुर विक (महेन्द्र) को अध्यक्षतामा ४५ सदस्यीय मालिका गाउँपालिका कमिटी गठन गरिएको छ।
कमिटीको उपाध्यक्षमा ठगेश्वर भट्टराई, बोमबहादुर विक, भूपालसिंह खत्री, चन्द्र बहादुर महतरा र कृष्ण विक रहनुभएको हो। सचिवमा खड्ग बहादुर विक, सह-सचिवमा तारा विक, राधिका अर्याल, विक्रम पाण्डे, लालप्रसाद पौडेल र बबिता श्रीस, कोषाध्यक्षमा उमा कार्की र सह–कोषाध्यक्षमा पुतला नेपाली लगायत अन्य सदस्य रहनुभएको छ।