• २१ वैशाख २०८२, आइतबार

गुल्मीबाट कक्षा १२ को परीक्षामा तीन हजार बढी परीक्षार्थी सहभागी

blog

रमेश विश्वकर्मा

गुल्मी, वैशाख २१ गते । गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि तीन हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन्। आजदेखि जेठ २ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा तीन हजार ६८६ परीक्षार्थी सहभागी भएका शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

एकाइ प्रमुख घिमिरेका अनुसार परीक्षा सञ्चालन गर्नका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। नियमित तर्फका दुई हजार ९३३ र आंशिक तर्फ ७५३ विद्यार्थी रहेका छन्। जिल्लामा ७१ विद्यालयमा १२ कक्षा पढाइ हुने माध्यमिक तहका विद्यालय रहेको उहाँले बताउनुभयो ।

परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनका लागि २५९ जना कर्मचारी खटाइएको छ । जसमा केन्द्राध्यक्ष १७, सहायक केन्द्राध्यक्ष १९, सहायक कर्मचारी १९, कार्यालय सहयोगी ३४, सुरक्षाकर्मी १७० जना रहनुभएको छ । 

कक्षा १२ को परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुहुँदै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले निकै धैर्य र आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन परीक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।