माधवप्रसाद बराल
माछापुच्छ्रे(कास्की), वैशाख २१ गते । लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र इरानको टोली भिड्ने भएका छन् ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रङ्गशालामा भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३—० को सोझो सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पुलिसले एपिएफलाई पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले पराजित गरेको हो ।
यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले फाइनलमा स्थान बनाएको थियो । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा जित निकालेको हो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ को ले जितेहो हो ।
तेस्रो स्थान र फाइनल खेल सोमबार हुने छ । पुलिस र इरानी टोलीबिचको फाइनल खेल दिउँसो ४ बजे र तेस्रो स्थानका लागि आर्मी र एपिएपको खेल दिउँसो १ बजे सुरु हुने छ । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४ सय ४४ र सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्ट हुनेलाई समान ८ हजार ४ सय ४४ रुपियाँ प्रदान गरिने छ । पहिलो पटक अयोजना गरिएको लायन्स कप भलिबलमा तीन विभागीय, दुई विदेशी र गण्डकी प्रदेश सहभागी भएका हुन् ।