• २१ वैशाख २०८२, आइतबार

कांग्रेसलाई अहिलेको प्रणालीको असाध्य माया छ : नेता बिमलेन्द्र निधी

blog

सर्लाहीको अत्रौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता बिमलेन्द्र निधी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, वैशाख २१ गते। नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधीले अहिलेको लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई रहेको बताउनुुभएको छ।

सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा आइतबार सहिद सुखदेव महतोको शालिक अनावरण गर्दै नेता निधीले सङ्घीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरू राजनीतिक दलको तुलनामा कांग्रेसलाई धेरै रहेको बताउनुुभएको हो। पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधीले यो प्रणालीलाई जोगाउन सके सहिदप्रति उच्च सम्मान हुने बताउनुभयो। 

कांग्रेसले धेरै कुरा सहेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगाइराखेको नेता निधीको भनाइ छ। संयुक्त सरकार रहेको बेला सबैकुरा कांग्रेसले भनेको मात्रै नहुने भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी २०८४ को निर्वाचनलाई लक्षित गरी जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुुभयो। 

निधीले अबको १३ महिनापछि नेकपा (एमाले)सँगको सात बुँदे सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा हुँदै जाने बताउनुुभयो। शनिबार मात्रै बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे विभिन्न टिका, टिप्पणी र विरोध भए पनि यसलाई पारित गराउन सबै सांसद एकैठाउँमा उभिने निर्णय भएको निधीको भनाइ छ। 

उहाँले पछिल्लो समय मधेश प्रदेशमा योजनाका चिठ्ठी, पत्र बिक्री भएको र यसले प्रदेश नै बदनाम भएको भन्दै आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई त्यस्ता काममा नलागी इमान्दारिता देखाउन आग्रह गर्नुभयो। कांग्रेस नेता निधी अत्रौली आएर २०५९ साल वैशाख २१ गते तत्कालीन विद्रोही पक्ष (माओवादी) ले घाँटी रेटेर हत्या गरेका पार्टीका नेता एवं साविक अत्रौली गाविसका अध्यक्ष सुखदेव महतोको आधाकद भएको शालिक अनावरण गर्नुभएको छ। 

शहीद सुखदेव महतो स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, मधेश सरकारका पूर्व मन्त्री रामसरोज यादव, पार्टी जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, धनुुषा जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व सर्लाही जिल्ला सभापति नागेन्द्र कुमार, प्रदेश सभा सदस्य जङ्गीलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य हरेशप्रसाद महतो, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, पार्टीको मधेश प्रदेश सभाका पूर्व सचेतक उपेन्द्रप्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले मन्तव्य व्यक्त गर्नुभएको छ। 

पार्टीका जिल्ला सचिव निरज कार्कीको सञ्चालन तथा हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुनकुमार योन्जनको स्वागतमा शालिक अनावरणको कार्यक्रम सम्पन्न भएको हो।