• २१ वैशाख २०८२, आइतबार

प्रेस स्वतन्त्रता हननका त्रिहत्तर घटना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २१ गते । नेपाल पत्रकार महासङ्घका अनुसार बितेको एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७३ घटना भएका छन् । महासङ्घको रिपोर्टले सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्म भएका ७३ वटा प्रेस स्वतन्त्रता हननका घटनामा दुई जना पत्रकारको हत्या र दुई जना गिरफ्तारीमा परेका हुन् । 

महासङ्घले शनिबार सार्वजनिक गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा २०८२ को वार्षिक प्रतिवेदनमा २२ जना पत्रकारलाई रिपोर्टिङमा अवरोध, २९ जनालाई दुव्र्यवहार र धम्की, २१७ जनालाई आक्रमण र ७४ जनालाई पेसागत असुरक्षा भएको हो । 

महासङ्घले शनिबार आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन (२०८१ वैशाख २१ देखि २०८२ वैशाख १७ गतेसम्म) सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारीकर्मी र विभिन्न विषयविज्ञले तीनकुने घटनाको अनुसन्धान जारी राखेकाले अध्ययन पूरा भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीनकुने आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भयो । यो अत्यन्तै दुःखद घटना हो । त्यस घटनाको सत्यतथ्य बाहिर आउन सकेन । हामी आफैँ सोधपुछ र छानबिनमा लागेका छौँ, प्रतिवेदन सार्वजनिक गर्ने छौँ ।” तीनकुने घटनामा मानव अधिकारकर्मीसमेत कुटिएको बताउँदै उहाँले यस्तो घटना तत्कालीन द्वन्द्वमा समेत नभएको स्मरण गर्नुभयो । मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल विधेयकका बारेमा अध्ययन गरेर उपयुक्त सुझाव राज्यलाई दिने उहाँले प्रस्ट पार्नुभयो । 

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हरिहर विरहीले फिल्डमा कार्यरत पत्रकार जलेर हत्या हुनु अत्यन्तै खेदजनक विषय भएको भन्दै निन्दा व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नभए प्रेस स्वतन्त्रतामाथि सबैभन्दा पहिलो निसाना हुने भएकाले प्रेसविरोधी गतिविधि सह्य नहुने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ अध्यक्ष निर्मला शर्माले पछिल्लो केही वर्षयता सामाजिक सञ्जालका माध्यमबाट मिथ्य सूचना फैलिँदा त्यसको अपजस मूलधारका सञ्चार माध्यमले भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “बदलिँदो समयसँगै नेपाली पत्रकारिता क्षेत्रमा पनि नयाँ चुनौती थपिँदै गएका छन् । कतिपय विश्व राजनीतिक घटनाक्रमले प्रेस जगत्मा चुनौती थपेको छ । विभिन्न समयमा हुने आन्दोलन र त्यसमाथि राज्यको व्यवहारका कारण नेपाली प्रेस जगत्ले निर्भयतापूर्वक आफ्नो काम गर्न सकेको छैन ।” नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रेससम्बन्धी कानुन राम्रा भए पनि व्यवहारमा कार्यान्वयन गर्दा कमजोर देखिने गरेको बताउनुभयो । 

युनेस्कोले सन् १९९३ देखि हरेक वर्षको मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन थालिको हो । कार्यक्रममा महासङ्घका तर्फबाट ‘लैङ्गिक समानता तथा समावेशी अवार्ड’ बाट कैलालीको टीकापुर एफएम १०१ मेगाहर्जलाई सम्मान गरिएको थियो ।