• ६ असार २०८२, शुक्रबार

पर्यटक बढेसँगै सामुदायिक लजको क्षमता विस्तार

blog

नागीमा रहेको सामुदायिक लज । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, असार ६ गते ।
अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गमा पर्यटक आगमनमा वृद्धि भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ नागीमा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ ।

गाउँमा आउने पर्यटकको सुविधाका लागि पन्ध्र वर्ष अघि स्थानीयहरुको सामूहिक प्रयासमा सञ्चालित हुँदै आएको सामुदायिक लजमा पाँचवटा कोठा थपेर लजको क्षमता विस्तार गरिएको हो ।

अमेरिकन संस्था रल्लापारी फाउन्डेशनको दस लाख रुपियाँ र लजको आन्तरिक आम्दानी पाँच लाख गरी पन्ध्र लाख रुपियाँ लगातमा पाँच वटा कोठा थप गरेर लजको क्षमता विस्तार गरिएको सामुदायिक लज व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार यसअघि २० वटा बेड क्षमता भएको लजमा कोठा थप गरेपछि लजमा  ३० वटा बेड छन् । लजको क्षमता बढाएसँगै सामुदायिक पदमार्गमा आउने पदयात्री र पर्यटकलाई सुविधा पुगेको उहाँले बताउनुभयो ।

लज व्यवस्थापन समितिका अध्यक्ष पुनले भन्नुभयो, ‘‘यसअघि लजको क्षमता २० जना मात्र पाहुना राख्न मिल्ने थियो । अहिले क्षमता विस्तार गरेर ३० जनासम्म पाहुनालाई राख्न  मिल्ने बनाएका छौं । पर्यटकीय सिजनमा यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लजको क्षमता विस्तारपछि सहज भएको छ ।’’

लजको क्षमता विस्तारपछि बेनीको गलेश्वरदेखि सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी र म्याग्दीको नागी–मोहरेडाँडा–घोरेपानी हुँदै पुनहिलसम्म पुग्ने अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्गमा पदयात्रा गर्ने पर्यटकलाई बास बस्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नागी र मोहरे डाँडामा रहेको समुदायिक लजले एक सिजनमा १० देखि १५ लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । लजको आम्दानीबाट प्राप्त भएको रकम पदमार्गको मर्मत, शिक्षा, स्वास्थ्यलगायतका सामाजिक कार्यमा खर्च गर्ने गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

पर्यटकीय सिजनमा सामुदायिक लजमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकहरु युके, मलेसिया, सिङ्गापुर, अस्ट्रेलिया, इटाली, जापान, स्पेनबाट दैनिकजसो पर्यटकहरु आउने गरेको सामुदायिक लजको कर्मचारी पुलमाया चोचाङ्गीले बताउनुभयो । उहाँका अनुसार लजमा पर्यटकको रोजाइ अनुसार नेपाली खानाका विभिन्न परिकार र इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाहरु पाइन्छन् ।

वि.सं.२०६७ सालमा तत्कालीन समयमा जिल्ला विकास समितिको कार्यालय म्याग्दीमार्फत मेडेप कार्यक्रमबाट १० लाख ४३ हजार नौ सय रुपियाँ सहयोग गरिएको थियो भने स्थानीयले नौ लाख ७० हजार ५ सय ९० रुपियाँ बराबरको श्रमदान गरी सामुदायिक लज बनाएको सामुदायिक लज सञ्चालक समितिका अध्यक्ष पुनले बताउनुभयो ।

खान र बस्नका लागि उचित व्यवस्था, इन्टरनेट तथा रमणीय दृश्यावलोकन र एसियाका म्यागासेसे पुरस्कार विजेता नागीवासी सामाजिक कार्यकर्ता महावीर पुनको गाउँका रुपमा चिनिएका कारण पछिल्ला पन्ध्र वर्ष यता नागी र मोहरेडाँडा पर्यटक आकर्षणको केन्द्रका रुपमा विकास हुँदै आएको स्थानीय हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले बताउनुभयो ।  

नागी हुँदै पर्यटकहरु समुद्री सतहदेखि तीन हजार तीन सय १० मिटरको उचाइमा अवस्थित मोहरेडाँडा हुँदै पर्यटकीय स्थल घोरेपानी र पुनहिल पुग्छन् ।

अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गको मुख्य आकर्षणको रूपमा धौलागिरि र अन्नपूर्ण हिमालका मनोरम हिमशृङ्खलाको दृश्यावलोकन, सूर्योदय, सूर्यास्त, चौंरीपालन, अग्ला पहाडहरूका घना जङ्गल, विभिन्न प्रजातिका लालीगुराँस, मगर समुदायको मिलेको गाउँबस्ती, रहनसहन, कला संस्कृति रहेका छन् ।

यो पदमार्गअन्तर्गत पर्यटकको सुविधाका लागि सञ्चालन भएका सामुदायिक लज र होमस्टेहरूमा स्थानीय उत्पादनको स्वाद चखाउने गरिन्छ । करिब ११ दिनमा भम्रण गर्न सकिने उक्त पदमार्गमा पर्यटकहरूको सुविधाका लागि ठाउँ ठाउँमा सामुदायिक लज, डायनिङ हल, होमस्टे र निजी लजहरुले पर्यटकलाई सुविधा दिएकाले वर्षेनी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै आएको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।