लक्ष्मी चौधरी
जनकपुरधाम, असार ६ गते । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले मधेशका सबै भेषभाषा, कला लोक संस्कृतिको संरक्षण, प्रवर्धन गरेर अस्तित्व जोगाउनमा जोड दिनुभएकाे छ ।
शुक्रबार धनुषाको पुरन्दाहा आयोजित मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा आअयोजित सरोकारवालासँगको एक दिवसीय अन्तरक्रिया कार्यक्रममा मन्त्री तिवारीले सो कुरामा जोड दिनुभएको हो ।
उहाँले सबै जातजातिको भेषभुषा, कला संस्कृतिलाई सम्मान गर्ने संस्कारको विकास आवश्यक रहेको बताउनुभयो । मधेशको लोकभाषा, लोक संस्कृति, लोक गीत, लोक नृत्य, नाट्य को संरक्षणको मधेश सरकारले मधेश संस्कृति सङ्ग्रहालय स्थापनाको तयारीमा लागेको उहाँले जानकारी समेत दिनुभयो ।
यस्तै कार्यक्रममा नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रतिष्ठान कुनै दल, जाती र व्यक्ती विशेषको नभएर सबैको लागि रहेको बताउनुभ्यो । उहाँले भन्नुभयो, "सङ्घीयताको उपज मधेश हो र मधेशले स्थापना गरेको प्रतिष्ठान हो । त्यसकार यो विभिन्न क्षेत्रको कला, संस्कृति, साहित्य उजागर गर्नका निम्ति प्रतिष्ठानको स्थापना भएको हो ।"
प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडिको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य दिनेशकुमार यादव, शिवकुमार साह, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य डा. सुर्यकुमार यादव, भाषा अभियन्ता डा. बिनोद यादव, साहित्यकार तथा संस्कृत कर्मी अशोक दत्तलगायतले मधेश प्रदेशका सबै भषा, साहित्य, संस्कृति, ललितकला , नाट्यकला, सङ्गीतको अध्ययन अनुसन्धान गरि संरक्षण सम्वर्धन र विकासमा जोड दिनुभयो ।
प्रतिष्ठानका प्रशासकीय प्रमुख अमोदकुमार यादवले प्रतिष्ठान साहित्य, संस्कृति, कला , गीत( सङ्गीत र नाटक गरि छ वटा विधामा रहेर काम गर्दै आएको जानकारी गराउनुभयो ।