बागलुङ, असार, ६ गते । टेउवा पछिल्लो समय बागलुङ जिल्लाकै एक आकर्षक पर्यटकीय गन्तव्य हो । यहाँ निर्माण गरिएका मूर्तिकलाको दृश्यावलोकन गर्न मानिसहरू आउने गर्दछन् । गलकोट नगरपालिका–५ हरि चौरमा पर्ने टेउवामा विश्व विख्यात मूर्तिकारहरूले निर्माण गरेका मूर्तिहरू छन् । खुल्ला मूर्ति सङ्ग्रहालय निर्माण गर्ने सोचका साथ काम अघि बढाइएको छ ।
यहाँ बनाइएका मूर्ति यहाँका ढुङ्गाबाट १२ देशका १५ जना विश्वविख्यात मूर्तिकारहरूले निर्माण गरिएको हो । यहाँ २०७६ माघमा अन्तर्राष्ट्रिय मूर्ति कार्यशाला गोष्ठी गरिएको थियो । गलकोट कला प्रतिष्ठानले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरेको थियो । टेउवा आन्तरिक तथा बाह्य पर्यटकले मूर्तिकलाको दृश्यावलोकन गर्नुका साथै सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे लगायतका हिमालको सुन्दरता नियाल्न सकिन्छ ।
यहाँ ललितकला सम्बन्धी अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ । यो समुन्द्री सतहदेखि १९८० मिटर उचाइमा रहेको छ । बागलुङ बजारदेखि हटिया–हरि चौर–टेउवा ३ घण्टामा यहाँ पुग्न सकिन्छ । यहाँसम्म पुग्ने मोटर बाटोको अवस्था कच्ची रहेको छ । यहाँ पुग्ने पर्यटकलाई लक्षित गरी हरि चौरमा सुविधा सम्पन्न होटलहरु सञ्चालनमा ल्याइएको छ ।
टेउवा आकर्षक पर्यटकीय गन्तव्य बन्दै गए पनि कामलाई पूर्णता दिन नसकिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या। पूर्ण बहादुर रानाले बताउनु भयो । ‘मन्त्रालयबाट विनियोजित बजेट पनि रोकियो, स्थानीय तहले पनि राम्रोसँग जिम्मेवारी ल्याउन सकेन ।’ उहाँले भन्नु भयो–‘सरकार परिवर्तन भइरहँदा हाम्रो काम पनि प्रभावित भइरहेको छ ।’
पर्यटन मन्त्रालयले गत वर्ष स्थानीय तहसँगको ५० प्रतिशत साझेदारीमा काम गर्ने गरी ५० लाख रुपैयाँ विनियोजन गरे पनि गलकोट नगरपालिका जिम्मेवारीबाट हटेको उहाँको भनाई छ । नगरपालिका जिम्मेवारीबाट हटेपछि केही काम प्रभावित भएका छन् ।
बजेट नपाउँदा टेउवामा जग्गादाता र आजीवन सदस्यहरुकोे शिलालेख, फिल्म सुटिङ स्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, बगैँचा, गेट निर्माण र तारबार गर्ने कार्य प्रभावित भएको उहाँले बताउनु भयो ।
‘हामीले काम अझै सकेका छैनौँ, तर यहाँ आन्तरिक पर्यटकहरू निरन्तर आइरहनु भएको छ ।’ उहाँले भन्नुभयो–‘त्यहिपनि पहल गर्न छोडेका छैनौँ ।’ उहाँले टेउवामा दोस्रो चरणको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला पनि गरिने बताउनु भयो ।
‘हामीले दोस्रो चरणको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गर्ने योजना बनाएका छौँ तर कहिले गर्ने भन्ने सुनिश्चित गरिएको छैन ।’ उहाँले भन्नु भयो–‘हाम्रो उद्देश्य भनेको मूर्तिकलाको अनुसन्धान गराउनु पनि हो, १५ वटा मूर्तिले अनुसन्धान केन्द्र बन्दैन ।’ उहाँले भन्नु भयो–‘यसलाई अनुसन्धान केन्द्र बनाउनको लागि पनि दोस्रो चरणको अन्तर्राष्ट्रिय कार्यशाला बनाउन जरुरी छ ।,
यस विषयमा नगर प्रमुख भरत शर्मा गैरेले अन्तर्राष्ट्रिय टेवा मूर्तिकला सङ्ग्रहालय लगायत कोत घर ,गलकोट दरबार, घुम्टेको लेक, सिद्ध थान, सहस्र झरना, रमुवा, निलुवा, थाले पोखरा, काली लेक, राम्चेढुङ्का, उदयवुद्ध विहार, चमेरे गुफा, शिवधुरी जागाधुरी लगायत क्षेत्रका संरक्षण र विकासमा विशेष पहल गर्ने नीति कार्यक्रम आर्थिक वर्ष २०८२÷०८३ क उल्लेख गरेको बताउनुभयो ।