काठमाडौँ, असार ६ गते । अमेरिकी सरकारको वैदेशिक सहायतामा आधारित नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको एमसिसी नेपाल कम्प्याक्टको परियोजना निरन्तर रहने भएको छ । ९० दिनको रोक लगाएको मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारले निरन्तरताका लागि फुकुवा गरेको हो ।
अमेरिकी सरकारले वैदेशिक सहायता सम्बन्धमा एमसिए नेपालको समीक्षा चलिरहेकै बखत नेपालमा परियोजना कार्यान्वयन जारी राख्न स्वीकृति प्रदान गरेको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले नेपालको परियोजनालाई निरन्तरता दिने विशेष निर्णय गरेको वक्तव्यमार्फत प्रस्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रकाशन गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी वैदेशिक सहायताका बारेमा अमेरिकी सरकारको समीक्षा जारी छ, यस अपवाद अन्तर्गत एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन जारी राख्न अनुमति प्रदान गरिएको छ ।”
साथै वक्तव्यमा एमसिसी र नेपालस्थित अमेरिकी दूतावासले अमेरिका सरकारले गरिरहेको समीक्षालाई थप रचनात्मक बनाउन सरोकारवालाहरूसँग परामर्श जारी राखेको जनाइएको छ ।
वक्तव्य अनुसार एमसिसीले अर्थ मन्त्रालय र एमसिए–नेपालसँगको सहकार्यमा काम गरिरहेको उल्लेख गर्दै सम्भावित नयाँ दायित्वहरूसहित एमसिसी नेपाल सम्झौता अन्तर्गत यसअघि गरिएका र पछि सुरु गर्ने गतिविधिहरू नेपाल सरकार र अमेरिकाका प्राथमिकताहरूसँग मेल खाएको प्रस्ट्याइएको छ, जस अनुसार परियोजना पारदर्शिता, सुदृढ शासन, प्रभावकारी कार्यान्वयनमा र विवेकपूर्ण जोखिम व्यवस्थापन सुनिश्चित गर्न सकिने पनि वक्तव्यमा औँल्याइएको छ ।
नेपाल र संयुक्त राज्य अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध समृद्धि र दीर्घकालीन आर्थिक पुनरुत्थानलाई प्रवर्धन गर्ने प्रयासमार्फत नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको पनि अमेरिकी सरकारले प्रस्ट पारेको छ ।
अब के हुन्छ ?
अमेरिकी सरकारले कार्यान्वयनमा निरन्तरताका लागि तत्काल बाटो खोलिदिए पनि अगाडि बढ्ने विषयमा नेपालमा थप निर्णयहरू गर्नुपर्ने हुन्छ । त्यसका लागि वक्तव्यमा भनिएको जस्तो नयाँ दायित्व कस्तो हो भन्ने कुरा प्रस्ट हुनुपर्ने हुन्छ ।
परियोजना निरन्तर रहने भनिए पनि कसरी जाने भन्ने अन्योलमा एमसिएको नेपाल कार्यालय रहेको छ । प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले पनि भइरहेका गतिविधिलाई निरन्तरता दिने प्रक्रिया थालेका छन्, जसका लागि अर्थमन्त्रालयले एमसिए नेपालसँग परामर्श सुरु गरेको जनाएको छ ।
यसअघि गत फेब्रुअरीमा अमेरिकी सरकारले विश्वभर एमसिसी परियोजना सञ्चालित देशहरूलाई लक्षित गर्दै परियोजनाको समीक्षाका लागि भन्दै कार्यान्वयनमा रोक लगाएको थियो । एक महिनापछि मार्चको मध्यमा अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको थियो, जसअनुसार महत्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू सञ्चालन गर्न भनिएको थियो । अमेरिका सरकारले विकासशील मुलुकहरूको विकासमा सघाउने उद्देश्यसहित एमसिसीमार्फत विभिन्न मुलुकहरूमा वैदेशिक सहायता उपलब्ध गराउँदै आएको थियो, जसमा समीक्षासहित ठुलो मात्रामा सहायता कटौतीसमेत गरिसकेको छ ।