• ६ असार २०८२, शुक्रबार

नेपालद्वारा नेदरल्याण्ड्स पराजित

blog

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी । तस्बिर: क्यान

काठमाडौँ, असार ६ गते । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल विजयी भएको छ । स्कटल्याण्डको ग्लासगोमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै तीन खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटमा नेदरल्यान्ड्सलाई पछाडि पार्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव चार ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रनको योगदान दिनुभयो । उहाँले ५१ बलमा छ चौकाको सहयोगमा ६५ रनको अर्धशतकीय पारी खेल्नुभयो ।

त्यसैगरी, नेपालका अर्का ओपनर आसिफ शेखले कुशलसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गर्दै छ बलमा सात रनका साथ आउट हुनुभयो । दोस्रो विकेटका लागि कुशलले भीम सार्कीसँग मिलेर ५४ रनको साझेदारी गर्नुभयो । भीमले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २७ रनमा आउट हुनुभयो ।

कप्तान रोहितकुमार पौडेलले सात बलमा पाँच रन जोड्दै आउट हुनुभयो । आरिफ शेखले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन जोड्नुभयो । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा १६ रनमा अविजित रहनुभयो । लोकस बम चार बलमा १२ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका रोलफ भान डर, मर्वे बेन फ्लेचर, आर्यन दत्त र जाच लायन काचेटले समान एक–एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेविटले सर्वाधिक ८६ रनको योगफल बनाउनुभयो । उहाँले ५३ बलमा छ चौका र पाँच छक्काको सहयोगमा ८६ रन बनाउनुभएको हो । त्यस्तै रोइलेफ भान डर मिर्वोले २१ बलमा ३६ रन बनाउनुभयो भने आर्यान दत्तले १८ बलमा १७ रन बनाउँदै नटआउट रहनुभयो । सकिव जुल्फिकरले ११ बलमा १४ रन जोड्नु भयो । त्यसबाहेक नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले दुई विकेट लिनुभयो भने सन्दीप लामिछाने, रुपेस सिंह, ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिनुभयो । अब नेपालले शुक्रबार शृङ्खलाको अन्तिम खेल स्कटल्याण्डसँग खेल्ने छ । रासस