गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २८ गते । लामो समयदेखि बन्द रहेका सुन पसल शुक्रबारदेखि खुलेका छन् । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार छबुँदे सहमति भएपछि पसल खुला गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको कारोबारमा विलासिता कर र मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको माग गर्दै चार सातादेखि व्यवसायीले पसल बन्द गरेर आन्दोलन गरेका थिए । सरकारले व्यवसायीका माग सम्बोधन गर्न कार्यदल गर्ने निर्णय गरेपछि व्यवसायीले विरोधका कार्यक्रम स्थगन गरी पसल खोलेका हुन् ।
लामो समयदेखि पसल बन्द हुँदा ग्राहकले गहना खरिद गर्न पाएका थिएनन् । सरकारले बजेटमार्फत सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा जडित गहनामा १३ प्रतिशत भ्याट लगाएको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू आन्दोलनमा उत्रेका थिए ।
एक सातादेखि व्यवसायीले सुनको मूल्यसमेत तोकेका थिएनन् । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ९१ हजार आठ सय रुपियाँमा करोबार भएको महासङ्घले जनाएको छ ।