काठमाडौँ, असार ६ गते। सार्क विकास कोष (एसडीएफ) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा “गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाको लागि साझेदारी” नामक क्षेत्रीय परियोजना सुरु गरेको छ।
शुक्रबार सार्क सचिवालय, काठमाडौँमा आयोजित कार्यक्रममा औपचारिक रूपमा यो परियोजना सुरु भएको हो। तीन वर्षे परियोजनाको कूल लागत ४.७९ मिलियन अमेरिकी डलर रहेको छ।
परियोजनाले नेपाल र भूटानका सरकार, स्थानीय समुदाय, शिक्षक, प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सहजकर्ता र तीनदेखि १२ वर्ष उमेर समूहका बालबालिकासँग सहकार्य गर्दै गुणस्तरीय, समावेशी प्रारम्भिक बाल विकास र आधारभूत शिक्षाको प्रवर्द्धन गर्नेछ।
सार्कका महासचिव महामहिम मोहम्मद गोलाम सर्वारले स्वागत मन्तव्य राख्दै परियोजनाले भूटान र नेपालको राष्ट्रिय प्राथमिकता कार्यान्वयन गर्न सहयोग गर्नुका साथै शिक्षामा समान पहुँचको प्रवर्द्धनमा योगदान पुर्याउने बताउनुभयो।
सार्क विकास कोषका अफिसर–ईन–चार्ज इरोशा कूरेले परियोजना सामाजिक विकास तथा क्षेत्रीय एकीकरणसम्बन्धी कोषको प्रतिबद्धतासँग मेल खाने कुरामा जोड दिनुभयो।
नेपालमा परियोजना मधेश प्रदेशमा कार्यान्वयन गरिनेछ, जहाँ प्रारम्भिक बाल विकासका सूचक अत्यन्त कमजोर छन्।
सेभ द चिल्ड्रेन नेपाल र भूटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले समावेशी शिक्षाका लागि तत्काल कदम चाल्नु पर्ने आवश्यकता औंल्याउनुभयो।
परियोजना कृयाकलाप समावेशी प्रारम्भिक बाल शिक्षा सुधारमा केन्द्रित रहनेछन्।