अविनाश चौधरी
धनगढी, असार ६ गते। कैलालीको लम्कीचुहा नगरपालिकाले विद्यावारिधि उपाधि प्राप्त गर्ने पालिकावासीलाई दुई लाख रुपियाँ दिने भएको छ।
सो पालिकाले विद्यावारिधि गर्न चाहेकालाई प्रोत्साहनका लागि आगामी आर्थिक वर्षबाट दुई लाख रुपियाँ दिने गरी बजेटमै व्यवस्था गरेको हो। यसैगरी, उच्च शिक्षामा पहुँच बढाउन तथा एमबिबिएस, होटल म्यानेजमेन्ट जस्ता विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको उपप्रमुख जुना चौधरीले बताउनुभयो।
लम्कीचुहाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब २० करोड ९९ लाख रुपियाँ बजेट प्रस्तुत गरेको छ। जसमा चालुतर्फ ७६ करोड ५७ लाख र पुँजीगततर्फ ४४ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
सो पालिकाले चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजना समयमै सम्पन्न गर्नका लागि आठ करोड ९० लाख रुपियाँ बजेट विनियोजन गरेको छ। त्यस्तै, स्वास्थ्य सेवा तथा बिमा कार्यक्रमका लागि पाँच करोड, कृषि तथा पशु सेवातर्फ एक करोड ९२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
यसैगरी, जानकी गाउँपालिकाले कृषि उपज ढुवानी साधन (कृषि एम्बुलेन्स) खरिदका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ। खैरीपुर–भोक्सी सडक कालोपत्रे निर्माणमा संघीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि दुई करोड ५२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। यस्तै, नयाँ लायकपुर–जगतपुर–मुर्तिया–कटासे हाइड्रोपावर हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने सडक कालोपत्रे सङ्घीय सरकार समपूरक अनुदान लागत साझेदारीका लागि चार करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।
सिकलसेल थालासेमिया रोगको पहिचा सम्बन्धी स्क्रिनिङ शिविर सञ्चालन, पालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट तोकिए बमोजिमको निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न ४५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि पाँच करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
जानकीको आगामी आर्थिक वर्षका लागि ९१ करोड ३७ लाख रुपियाँको बजेट छ। जसमध्ये चालुतर्फ ४५ करोड ८८ लाख र पुँजीगततर्फ ४५ करोड ४८ लाख रुपियाँ छुट्याइएको छ।