• ६ असार २०८२, शुक्रबार

स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने त्रिविको प्रतिबद्धता

त्रिविका विद्यार्थी र प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

blog

हस्ताक्षर कार्यक्रममा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायत। तस्बिरः स्वास्थ्यमन्त्रीको निजी सचिवालय

काठमाडौँ, असार ६ गते। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकलाई संघीय अस्पताल तथा प्रतिष्ठानमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।

समझदारीमा त्रिविले प्राध्यापक तथा विद्यार्थीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहन गर्ने समेत उल्लेख छ।

कार्यक्रममा मन्त्री पौडेलले सरकारले संगठित क्षेत्रमा आवद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा आबद्ध गराउने निर्णय गरिसकेकाले त्रिविले समेत आगामी दिनमा सबैलाई आबद्ध गराएर स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो। 

यसका लागि आवश्यक गृहकार्य त्रिविले चाँडै सक्ने उहाँले विश्वास गर्नुभयो। 

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन श्रोत थप्नुका साथै नीतिगत सुधार भइरहेको बताउँदै मन्त्री पौडेलले त्रिविका प्राध्यापक विद्यार्थी आबद्ध हुँदा सकारात्मक सन्देश जाने बताउनुभयो।  मन्त्रालयका सचिव डिल्लीराम शर्माले समझदारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास गर्नुभयो। 

त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बीमामा आबद्धताका लागि प्रक्रिया थालिएको भन्दै कार्यदल बनाउने बताउनुभयो। उहाँले त्रिवि र मन्त्रालयबिच शिक्षा र स्वास्थ्यमा थप सहकार्य गर्ने बताउनुभयो।