प्रतीक इच्छुक शर्मा
सल्यान, असार ६ गते । लगातार वर्षासँगै कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको छ। पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो ।
वर्षासँगै चोरखोलामा आएको पहिरोले गएरातिदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्ग खुलेपछि लामो समयदेखि सडकमा रोकिएका गाडीहरू अहिले आ–आफ्नो गन्तव्यतिर लागेका छन् ।
रातिको समयमा काम हुन नसकेको र बिहानदेखि जेसीभीले पहिरो हटाउने काम गरे पनि माथिबाट ढुङ्गा खस्ने कार्य नरोकिएकाले राप्ती राजमार्ग लामो समयसम्म अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध सडक खुलेपछि अहिले रोकिएका दर्जनौं गाडी र यात्रु आ–आफ्ना स्थानमा प्रस्थान गरेका छन् ।
पानी पर्नेबित्तिकै चोरखोलामा पहिरो खस्ने र माथिबाट ढुङ्गा खसिरहने गरेकाले उक्त सडकमा आउजाउ गर्दा उच्च सतर्कता अपनाउन गाडी व्यवसायी तथा यात्रुलाई उहाँले आग्रह गरेका छन् । अहिले चोरखोलादेखि राम्रीसम्म धमाधम कालोपत्रेको काम भैरहे पनि दैनिकजसो खस्ने गरेको पहिरोले यात्रुले सास्ती खेप्दै आएको छन् । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले राजमार्ग निर्माणाधीन भएकाले वर्षायामा यातायात गर्न सजतकता अपनाउनु पर्ने बताउनुभयो । उहाका अनुसार पानी पर्नसाथ माथिवाट माटो बग्ने गरेको छ ।