काठमाडौँ, वैशाख २१ गते । शीर्ष स्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा जितको यात्रा जारी राखेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसनमा परेको रियल भालाडोलिडलाई उसैको मैदानमा २–१ गोलले हरायो । बार्सिलोनाको जितमा राफिन्हाले ५४औँ र फर्मिन लोपेजले ६०औँ मिनेटमा गोल गर्नुभयो ।
खेलमा सुरुवाती अग्रता भालाडोलिडले लिएको थियो । इभान सान्चेजले छैटौँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । तर दोस्रो हाफमा उसको उत्साह कायम रहेन ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानमा सात अङ्कको अग्रता लिएको छ । बार्सिलोनाको ३४ खेलबाट ७९ अङ्क छ । दोस्रो स्थानमा रहेको रियलले एक खेल कम खेल्दै ७२ अङ्क बनाएको छ । पराजित भालाडोलिडको १६ अङ्कसहित अन्तिममा छ । एजेन्सी