पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २१ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयबाट पहिलो पटक चालक अनुमति पत्रको स्मार्ट कार्ड वितरण गरेपछि सेवाग्राही लाभान्वित भएका छन् । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको वि.सं. २०७८ मा स्थापना भएको यस कार्यालयले गत वर्षबाट सवारी चालक अनुमति पत्र वितरणका लागि परीक्षा मात्र सञ्चालन गर्दै आएको थियो ।
यस कार्यालयबाट जारी भएका नयाँ अनुमति पत्र, नवीकरण, वर्ग थप, प्रतिलिपि गरी १३ हजार ९७१ वटा स्मार्ट कार्ड वितरण गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०८१/०८२ को पुससम्मको लाइसेन्स कार्ड प्राप्त भएकाले क्रमैसँग सेवाग्राहीलाई कार्ड वितरण गरिएको हो ।
उक्त कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को ६ महिनामा नौ करोडभन्दा बढि राजस्व सङ्कलन गरेको बताउँदै कार्यालय प्रमुख न्यौपानेले थप सेवा विस्तारसँगै राजस्व सङ्कलनमा पनि वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
यस कार्यालयबाट हाल दुई र चार पाङ्गे सवारी साधनको सवारी चालक अनुमति पत्र–लाइसेन्स वितरण साथै सवारी साधनको नवीकरण साथै राजस्व सङ्कलन हुँदै आएको छ ।
२०७८ सालमा स्थापना भएको सेवा कार्यालयबाट यस अघि दुई पाङ्ग्रे सवारी साधनको मात्र चालक अनुमति पत्र वितरण हुँदै आएको थियो । हालसम्म सात हजार दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमति पत्र वितरण भइसकेको छ । जिल्लाबाटै चालक अनुमति पत्र वितरण भएपछि सेवाग्राहीलाई रूपन्देही जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।