• ११ मंसिर २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय चित्रकला पर्यटन र दिक्तेल

blog

१४ देशका ४३ जना वरिष्ठ चित्रकारको उपस्थितिमा २०८० असोज १७ देखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष प्लेन एयर कार्यशाला २०८०’ दिक्तेल बजार र आसपासको क्षेत्रमा आयोजना गरिएको थियो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिमाना महुरेगढीदेखि दिक्तेल बजार भानुचोकसम्म दर्जनौँ ठाउँमा पाहुनाको स्वागतका लागि उपस्थित भएका थिए हजारौँ मानिसहरू । लामबद्ध थिए ७–८ वर्षका बालबच्चादेखि ८५–९० वर्षका अग्रज हजुरबा–हजुरआमासम्म । न दुधे बालबच्चाको प्रवाह थियो, न सुत्केरी महिलाको लेखाजोखा । न दुहुनु भैँसीको हेरचाह भयो त्यो दिन, न पल्लाघरे साइली आमालाई औषधी खुवाइयो । 

घरलौरी मानिस उत्रिए अतिथिको स्वागत र सम्मान गर्नका लागि सडकमा । जनप्रतिनिधिदेखि सिडियोसम्म, व्यवसायीदेखि कलाकारसम्म सबै उभिएका थिए घण्टौँदेखि अतिथिको स्वागत गर्न हातमा फूलको माला बोकेर सडकपेटीमा । बहुपक्षीय विविध सांस्कृतिक झाँकी र कलाकर्मीको लोभलाग्दो प्रस्तुतिसहितको स्वागतले मनै भुरुङ्ग बनाएको थियो वरिष्ठ चित्रकारको । राई, नेवार, हिन्दु, शेर्पा, तामाङ, गुरुङलगायतको सांस्कृतिक प्रस्तुतिले खोटाङ विविधताको सङ्गम स्थल जस्तो देखिन्थ्यो त्यो माहोल । न थामियो अतिथि स्वागत सत्कारको गतिविधि न असोजे वर्षात्को झरी । 

सिमसिमे पानीमा रमाइरहेका थिए स्वदेशी विदेशी चित्रकार र कम्मर भाँचेर नाचिरहेका थिए पाहुना र स्थानीय बासिन्दा । स्वतःस्फूर्त रूपमा दर्जनौँ ठाउँमा बनाइएका स्वागत द्वार, घर अगाडि राखिएको दीप प्रज्वलनसहितको घडा र सत्कार गर्ने खोटाङ्गेको शैलीको मुक्तकण्ठले प्रशंसा भइरहेको छ अहिले पनि अतिथि गणबाट । चित्रकला कार्यक्रममा न दलगत मतभिन्नता थियो न कुनै फरक अनुभूति । सबैको एउटै भनाइ थियो, यो उपस्थिति र उमङ्ग ‘न भूतो न भविष्यति’ । आहा ! त्यो दिनको कल्पना गर्दा क्या गज्जवको माहोल ..! वर्णन गर्नै नसकिने थियो वातावरण ।    

काठमाडौँमा प्रदर्शनी

दिक्तेलमा ५ दिनसम्म प्रत्यक्ष बनाइएका १०८ वटा चित्र र यसबिचमा अन्य ३६ देश गरी जम्मा ५० देशका १३९ जना ख्यातिप्राप्त चित्रकारले बनाएका २०७ वटा चित्र नेपाल कला परिषद् बबरमहल, काठमाडौँमा हाल राखिएको छ प्रदर्शनीका लागि । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको संयुक्त आयोजनामा भइरहेको प्रदर्शनीमा दैनिक सयकडौँ मानिसको सहभागिता छ । नगरपालिकाको अगुवाइमा भएको चित्रकला प्रदर्शनीले नगरपालिकाको मात्र होइन जिल्लाका ऐतिहासिक र महत्वपूर्ण ठाउँको चित्रकारले कलात्मक ढङ्गबाट उतार्नु भएको छ क्यानभासमा दृश्यलाई । सिर्जना नै समाज विकासको सूचक हो भन्नेमा छैन दुई मत । अतः नगरपालिकाले पूरै जिल्ला र देश विदेशका महत्वपूर्ण ठाउँको परिकल्पनालाई समेत समेट्ने प्रयास गरेको छ क्यानभासमा उतारिएका चित्रकलामार्फत । त्यसैले त यो राष्ट्रिय होइन अन्तर्राष्ट्रिय कार्यक्रम बनेको छ अहिले ।

बबरमहलको प्रदर्शनीमा

फागुन ५ गते शनिबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले पानसमा बत्ती र क्यानभासमा चित्र कोरेर समुद्घाटन गर्नुभएको चित्रकला प्रदर्शनी ऐतिहासिक रूपमा सफलतातर्फ अघि बढिरहेको अनुभूति भएको छ आयोजकलाई । विभागीय मन्त्री सुदन किरातीले केन्द्र सरकारले गर्नुपर्ने काम दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गरेको भन्दै प्रशंसा गर्नुभयो । प्रदर्शनीमा विभिन्न स्कुल, कलेजका शिक्षक– विद्यार्थी तथा कलाप्रेमीको ठुलो भिड लागिरहेको छ दिनहुँजसो । सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री केशरबहादुर विष्ट, उद्योग सचिव मुकुन्द निरौलालगायत दर्जनौँ विशिष्ठ पाहुनाले प्रदर्शनी अवलोकन गरिसक्नु भएको छ ।  

प्रदर्शनीको विशेषता 

प्रदर्शनीमा पुगेर अवलोकन गरेपछि खोटाङ पुगेको अनुभूति गर्न सकिन्छ । सबै जातजाति र समुदायको अपनत्व झल्किने चित्र कोरिएको छ क्यानभासमा । पुराना र ऐतिहासिक ठाउँलाई सिर्जनात्मक ढङ्गले चित्रमा उतारिएको दृश्यले घण्टौँ समय बितेको थाहा हुँदैन त्यहाँ पुगेपछि । चित्रमा खोटाङ अनुभूत गरेर दिक्तेलसम्मको यात्रा तय गर्न पक्कै पनि उत्प्रेरित गर्ने छ अवलोकनकर्तालाई । त्यसैले त होला नेपाल कला परिषद्मा ४० वर्षदेखि कार्यरत राम तिम्सिनाले चित्रकला प्रदर्शनीमा यति धेरै मानिसको भिडले अवलोकन गरेको यो भन्दा पहिला कहिल्यै नदेखेको बताउनुभयो । हुन पनि ५० देशका वरिष्ठ चित्रकारलाई नगरपालिकासँग जोड्नु चानचुने विषय होइन । यसमा महत्वपूर्ण योगदान र भूमिका छ वरिष्ठ मूर्तिकार तथा चित्रकार प्राज्ञ धनबहादुर याक्खाको । विश्वभरका खोटाङेको मनलाई एउटै थलोमा जोड्ने महाअभियान चित्रकला प्रदर्शनीको मध्य अवधिमा पुगेका छौँ हामी । छुट्नुभएका खोटाङे तथा तमाम कलाप्रेमीले बाँकी अवधिको उपयोग गर्नु हुनेमा विश्वस्त छ आयोजक ।    

धनु आर्ट स्टुडियोको भूमिका

नेपाल देशको सांस्कृतिक तथा रमणीय ठाउँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न मूर्तिकला र चित्रकलाको माध्ययमबाट देश–विदेशमा राष्ट्रिय झन्डा फहराउने सम्मानित संस्था हो धनु आर्ट स्टुडियो । अहिले नगरपालिकासँग संयुक्त रूपमा कार्यशाला गरेर कला संस्कृतिको विकासमा थप नयाँ इँटा थप्न सफल भएको छ स्टुडियो । करिब एक वर्षको बौद्धिक ज्ञान र लगानीले नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्दै भोलिको हाम्रो उद्देश्य पूर्तिमा योगदान पुग्ने प्राज्ञ धनबहादुर याक्खाले बताउनुभयो । सहकार्य र संयुक्त कार्य योजनाको प्रतिफल नै हो अहिलेको यो प्रदर्शनी । दर्जनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न गर्ने प्राज्ञ याक्खाबाट समग्र खोटाङ जिल्ला र दिक्तेल रूपाकोट मझुवागढीको कला– संस्कृतिको विकास गर्दै पर्यटन प्रवर्धन गर्न भोलिका दिनमा थप सहयोग मिल्नेमा आशावादी छौँ हामी । 

मुन्दुम नामकरणको विषय

खोटाङ जिल्ला र दिक्तेल नगर किरात बस्तीको मध्यभागमा पर्ने भएकोले नै भनिएको हो माझ किरात । हजारौँ वर्षदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको समस्त किरातीहरूको मौखिक ज्ञानको भण्डार हो मुन्दुम । ज्ञाताको भनाइमा किराती धामीको मन्त्र हो मुन्दुम । किरातीहरूको दार्शनिक दृष्टिकोण, अनुभव, इतिहास तथा भाषा, साहित्य, संस्कृति, भूगोल, गीत–सङ्गीत, पर्यावरणीय ज्ञानको मूल स्रोत भएकोले समग्र नेपालीको समाजको अलिखित बौद्धिक सम्पत्ति हो मुन्दुम । मुन्दुम समग्र किरातीको आस्था र विश्वासको धरोहर मात्र होइन समग्र पहिचानको स्रोत तथा आधार स्तम्भ पनि रही आएको छ । 

किरातीको त सम्मानित ऐतिहासिक दर्शन 

हुँदै हो मुन्दुम तर त्यस भूगोलमा बस्ने समग्र जातजातिको स्रोत, आस्था र विश्वासको अमूल्य अलिखित ग्रन्थ पनि हो । मुन्दुमका आधारमा किराती संस्कृति परिपालन गरिने भएकोले सामाजिक संविधान भन्न सकिने बताउनुहुन्छ, मुन्दुमका ज्ञाता तथा अध्येता डाक्टर भोगिराज चाम्लिङ । हो, त्यसैले यो कार्यक्रमको नामकरणका विषयमा लामो छलफल र बहसपछि न्वारन गरिदिनु भएको थियो इतिहासविद् भोगीराज चाम्लिङले । उहाँको प्रस्ताव र व्याख्यालाई नगर कार्यपालिकाले सर्वसम्मत पास परेर यो कार्यशाला तथा प्रदर्शनीको नामकरण गरिएको हो मुन्दुम ।    

प्रशंसा धेरै र आलोचना पनि

असोजमा भएको कार्यशाला र हाल काठमाडौँमा भइरहेको चित्रकला प्रदर्शनीका सम्बन्धमा छिटपुट आलोचना भए पनि अत्यधिक रूपमा नगरपालिकाको प्रशंसा गरिएका विभिन्न माध्यममा समाचार र सामाजिक सञ्जालमा देख्न सकिन्छ अहिले । न हामी प्रशंसाबाट मात्तिएका छौँ हामी न आलोचनाबाट आत्तिएका । चित्रकला जस्तो सर्वस्वीकार्य महत्वपूर्ण पाटोका विषयमा सबै नागरिकको मन जित्न र विषय बुझाउन नसक्नु गम्भीर कमजोरीको रूपमा लिएको छु मैले । सकारात्मक ढङ्गबाट गरिएको आलोचना र टिप्पणी नगरपालिकाको मार्गदर्शन सम्पत्तिको रूपमा स्वीकारिने छ भने भोलिका दिनमा यो सम्पत्तिलाई नगरको विकास र समृद्धिमा जोडिने छ । समाज विकास भनेको डोजरे विकास मात्र होइन कला, साहित्य, संस्कृति र खेलकुदको विकास पनि महत्वपूर्ण पाटो हो भन्नेमा म विश्वस्त छु । यसमा दुईमत हुनै सक्दैन र म यस विषयमा तयार छु घण्टौँं बहस गर्न । त्यसैले त हामी चित्रकलामार्फत समग्र समाज विकासका लागि चालिरहेका छौँ अगाडिका कदम । नयाँ संस्कृति निर्माण गर्दै आलोचना र प्रशंसालाई ठुलो सम्पत्तिको रूपमा स्वीकार्ने ध्येय नगरपालिकाको छ ।    

सङ्ग्रहालय रूपमा विकास गर्छौं 

प्रदर्शनीमा राखिएका चित्र खरिद गर्न दर्जनौँ मानिस आइरहनुभएको छ सम्पर्कमा । तर हामी बेच्दैनौँ सिर्जना गरिएका कला । सङ्ग्रहालयको रूपमा विकास गरेर बनाउने छौँ भोलिको पुस्ताका लागि ठुलो सम्पत्ति । यही अठोट र आत्मविश्वास लिएर अगाडि बढेको छ नगर । देश–विदेशमा रहेका खोटाङे र नेपालीको मन मुटुलाई जोड्ने छ सङ्ग्रहालयले । नेपालीलाई मात्र होइन ५० देशका नागरिकको अपनत्व पाउने छ यो अन्तर्राष्ट्रिय सङ्ग्रहालयले । हाम्रो यही अठोट र विश्वासलाई सहयोग गर्ने सबै सज्जनवृन्दको मुक्तकण्ठले प्रशंसा गर्छु म र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा लिएका छौँ हामीले ।