• १२ साउन २०८१, शनिबार

सन्धिखर्क नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट

blog

सन्धिखर्क नगरपालिका ।

राधा नेपाली 

सन्धिखर्क, फागुन १० गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशका ७५३ पालिकामध्ये उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका नेपालकै उत्कृष्ट भएको हो । 

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका ६१.८१ अङ्क प्राप्त गरी पहिलो भएको हो । त्यस्तै चितवनको भरतपुर महानगरपालिका ५६.२९ अङ्क सहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अङ्कसहित तेस्रो भएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अङ्क सहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३.७६ अङ्क सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अङ्क सहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अङ्क सहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५०.०३ अङ्क सहित आठौँ भएका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको थियो । उत्कृष्ट भएको अवसरमा बिहीबार कर्मचारी तथा स्थानीय जनतालाई धन्यवाद दिँदै नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “हामी खुसी छौँ, यो मूल्याङ्कनले हामीलाई थप हौसला मिलेको छ । थप जिम्मेवारीको अनुभूति भएको छ, सबैलाई धन्यवाद छ ।”   

मूल्याङ्कनमा असार १० भित्र बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको मापदण्डहरू थिए । बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकमअनुसार खर्चको अवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/नगरेको लगायतका सूचकहरूका आधार मूल्याङ्कन भएको सन्धिखर्क नगरपालिकाका योजना उपशाखा प्रमुख दिलीपकुमार केसीले बताउनु भयो।

त्यस्तै, आवधिक योजना तर्जुमा गरे/नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा (९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जिपिए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरू थिए ।